काठमाडौं । आइसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित भएकाे छ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे।
नेपालका लागि ओपनर आसिफ शेखले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए। अनिल शाहले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा २७ रन बनाए। शेख र शाहले तेस्रो विकेटका लागि ३६ बलमा ५० रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले चार तथा कप्तान एडेन मारकमले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ तथा ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए। कप्तान ऐडन मारकमले २२ बलमा १५ तथा क्विटन डि ककले १० रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले चार तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।
योसँगै नेपालको सुपर आठमा पुग्ने सम्भावना समाप्त भएको छ।
सुपर एटमा पुगिसकेको अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।
दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने भएको छ। नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक छ। श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ।
नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।





