काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरूले अराजकता फैलाउन खोजिरहेको बताएका छन्। उनले त्यसविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।
सचिव खड्काले सोमबार पछिल्लो ९ महिनायता क्रिकेटभित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरूप संस्था सही मार्गमा अघि बढिरहेको बताएका छन्। तर, संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरूले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको उनले आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन्।
‘कयौं चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्त्वपूर्ण छ। यद्यपि, यी सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनुभएको कार्य दुःखद छ।’ उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
क्रिकेटलाई खेलाडीका रूपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको उनले बताएका छन्।





