काठमाडौं : नेपाल विद्यार्थी संघले वर्षायाममा हुने विपदको प्रतिकार्यमा स्वयम्सेवक परिचालन गर्ने भएकाे छ । नेविसंघ केन्द्रीय समितिले ७७ वटै जिल्लाका जिल्ला कार्यसमितिलाई एक परिपत्र जारी गर्दै स्वयम्सेवक परिचालन गर्ने निर्देशन गरिसकेको छ ।
विज्ञको पूर्वानुमान अनुसार यो वर्ष अत्याधिक वर्षा हुने भन्दै त्यसबाट उत्पन्न हुने सम्भावित विपदको प्रतिकार्यमा देशव्यापी स्वयम्सेवक परिचालन गर्ने योजना अगाडि सारेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।
७७ वटै जिल्लामा सबै स्थानीय तह र क्याम्पस समितिको प्रतिनिधित्व रहने गरी एउटा जिल्लामा कम्तिमा ३० सदस्यीय स्वयम् सेवक समिति गठन गरिने नेविसंघ केन्द्रीय समितिको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका संयोजक नारायण पाण्डेयले बताए । ‘जिल्ला समितिहरूलाई स्वयम् सेवक समितिमा बस्न चाहने इच्छुकहरूको नामावली मागेका छौं । जिल्लाबाट नामावली आएपछि एकमुष्ट घोषणा हुन्छ,’ उनले भने ।
उक्त स्वयम्सेवक समितिलाई मौसमजन्य विपद सम्बन्धी सचेतनासामाग्री बनाई सञ्चारका माध्यममार्फत प्रचार प्रसार गर्नेदेखि घटना भए तत्काल प्रतिकार्यका काममा जुटेर उद्धार, राहत संकलनमा समेतमा समन्वय गर्ने जिम्मेवारी रहने नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । ` नेविसंघमा आवद्ध स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्ने तयारी छ । त्यसका लागि पनि इच्छुकहरूबाट आवश्यक समन्वय तथा सहकार्यका लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ,´ प्रवक्ता सेजुवालले भने ।
यस्तै सरकारलाई मनसुनजन्य विपद प्रतिकार्यको पूर्वतयारी व्यवस्थापनमा राज्यलाई सजग गराउन नेविसंघले ज्ञापन पत्र पनि बुझाइरहेको छ । ‘सम्भावित जोखिमको पूर्वतयारीमा गम्भीर रहन सम्पूर्ण जिल्लाका विपद व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउने पनि हाम्रो कार्यक्रम चलिरहेको छ,’ अध्यक्ष शेर्पाले भने,‘त्यसका लागि सबै जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइरहेका छन् ।’ उनका अनुसार केही जिल्लामा शुक्रबारै बुझाइएको छ भने, बाँकी जिल्लामा आइतबार बुझाउने कार्यक्रम छ ।



