काठमाडौं : देश सङ्घीय शासन प्रणालीमा गएको लामो समय बितिसक्दा पनि नयाँ निजामती सेवा ऐन जारी हुन नसक्दा देशको प्रशासन ३२ वर्ष पुरानो ऐनबाट सञ्चालन हुँदै आएको छ। प्रदेश सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कुन तहको कर्मचारी राख्ने भन्ने लगायतका विवादका कारण ऐन जारी हुन ढिलाई भएको बताइन्छ । हिउँदे अधिवेशनको अन्तिम तिर सरकारले संघीय निजामती सेवा ऐन संसदमा दर्ता गरेको थियो । प्रतिनिधि सभाले उक्त विधयेकलाई दफाबार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ।

ऐनका सम्बन्धमा कर्मचारीहरुले गम्भीर असहमति जनाउँदै आएका छन् । साथै प्रशासनिक विज्ञहरुले समेत ऐन समयको मागलाई सम्बोधन गर्न नसक्ने किसिमको भएको बताउँदै आएका छन्। तर कर्मचारीका ट्रेड युनियनका नेताहरु भने अवकाश उमेर हद बढाई ६० वर्ष पुर्याउने र तत्काल नै लागू गर्ने विषयमा मात्र केन्द्रित भएको र अन्य विषयमा गम्भीर नभएको भन्दै कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल र कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला दुवै जना ५८ वर्षे उमरहरदका कारण सेवानिवृत्त हुन लागेकाले आफ्नो जागिर जोगाउन उनीहरूले दौडधूप गर्दै आएको बुझिएको छ ।

कर्मचारीसँग सहजीकरण गर्न गठित समितिका संयोजक एवं तत्कालीन उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का तथा ऐनको मस्यौदा तयार गर्ने सामान्य प्रशासन मन्त्रालयका सचिव/सहसचिव, मुख्य सचिव, तत्कालीन मन्त्रीसँग उनीहरूले छुट्टै भेटघाट गरी आफ्नो स्वार्थ अनुकूलका प्रावधान राख्न प्रयास गरेको र यसले गर्दा कर्मचारीका अन्य मागहरु ओझेलमा परेको भन्दै एक कर्मचारीले आक्रोस पोखे । प्रस्तावित विधेयकमा पारित भएकोको अर्को आ.व. देखि सेवा निवृत्त हुने कर्मचारीको उमेर हद ६० वर्ष बनाउने प्रावधान राखिएको छ । तर सेवा प्रवेशको अधिकतम उमेर भने महिलाका लागि ३७ वर्ष र पुरुषका लागि ३२ वर्ष बनाइएको छ । जुन विरोधाभास पूर्ण देखिन्छ।उमेरहद एकै पटक ६० वर्ष बनाउँदा बढुवा हुने कर्मचारी र सेवा प्रवेश गर्न चाहने नयाँ उम्मेदवारका लागि अप्ठयारो पर्ने बताइएको छ । यसैबीच छिटो ऐन पारित गरी उमेर हद बढाउने विषयमा कुरा गर्न हालै कर्मचारी युनियन अध्यक्ष गोपाल पोखरेल र संगठनका अध्यक्ष लेखनाथ कोइरला राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई भेटन पुगेको थिए। तर सभापति रामहरि खतिवडाले आफूले सबै ट्रेड युनियनसँग सामूहिक रुपमा छलफल गर्ने कसैका व्यक्तिगत विषयमा आफू केन्द्रित नहुने भन्दै उनीहरुलाई हप्काएर फर्काइदिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको