
काठमाडौं । वेस्ट इन्डिजले आइसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
वेस्ट इन्डिजले गुयनामा भएको सम्पन्न खेलमा पपुवा न्यु गिनी (पीएनजी) माथि ५ विकेटको जित हात पारेको छ।
पीएनजीले दिएको १३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
वेस्ट इन्डिजको जितमा रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक अविजित ४२ रन बनाए। ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौकाको सहयोगमा ३४ रन बनाए । निकोलस पुरनले २७ बलमा २७ तथा आन्द्रे रसलले ९ बलमा अविजित १५ रन बनाए।
पपुवा न्यु गिनीका लागि कप्तान असद भालाले दुई तथा अलि नो र जान कारिकोले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।
जितसँगै वेस्ट इन्डिज समूह सी को शीर्ष स्थानमा छ।
समूह सी मा पीएनजी र वेस्ट इन्डिजका अलावा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन्।
तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन्।