काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले अहिलेको बजेट राजनीतिक चतुर्‍याइँ केन्द्रीत रहेकाे भन्दै यसले आर्थिक पुनःसंरचना दिन नसक्ने बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँ केन्द्रित भएको टिप्पणी गरिन् ।

“यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्‍याइँको लागि केन्द्रित भएको देखिन्छ,” उनले भनिन्, “कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको भए बजेटले दिने सन्देश फरक हुन्थ्यो ।” विकास र समृद्धि खोज्ने अनि त्योभन्दा फरक बजेट प्रस्तुत हुँदा देश आर्थिक संकुचनमा जाने गौतमले बताइन् । निजी क्षेत्रको मनोबल बढाउने कस्तो कार्यक्रम लिएको छ भनेर पनि स्पष्ट नीति नभएको पनि उनले बताइन् । व्यवसायीलाई दोहोरो कर लगाउने र मनौवैज्ञानिक रूपमा आतंकित बनाउने काम भएको पनि उनले बताइन् ।

“नेपालको संविधानमा भएको व्यवस्था अनुरूप समाजवादउन्मुख अर्थ व्यवस्थाअनुसार बजेट आउनुपर्ने हो । तर, सरकारको अभ्यास त्योअनुसार भएको देखिँदैन,” उनले भनिन्, “निजी क्षेत्रले आफ्नो मनोबल उच्च राख्न व्यावसायिक वातावरण सहज छ कि छैन त्यसमा भर पर्छ । झट्ट हेर्दा बजेट निजी क्षेत्र मैत्री देखिन्छ । सुक्ष्म तरिकाले नियाल्ने हो भने मलाई लाग्छ यो अवस्था छैन ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको