काठमाडौं । सरकारले आर्थिक वर्षका लागि खेलकुदमा बजेट बढाएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेका हुन्।

खेलकुदमा बिनियोजित बजेटमा १ अर्ब ३० करोड रुपैयाँ खेलकुद पूर्वाधारमा बिनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए।

नयाँ आर्थिक वर्षमा नेपालमा एसियन लेभलको ई स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्नेदेखि कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता बजेटमा समावेश छ।

अर्थमन्त्री पुनले दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिए।

यस्तै, मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्नेदेखि भरतपुरको क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा निर्माण सम्पन्न गरिने अर्थमन्त्री पुनले जानकारी दिए। उनले कीर्तिपुर मैदानको स्तरोन्तीदेखि धनगढीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य सुरु गर्ने गरि बजेट बिनियोजन गरिएको बताए।

सरकारले ओलम्पिक र एसियन गेम्सका लागि राष्ट्रिय टिमको तयारी गर्नेदेखि राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गर्ने गरि बजेट बिनियोजन गरिएको बताएको छ।

नयाँ आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने गरि बजेटको व्यवस्था गरिएको छ।

आधुनिक खेलको रुपमा विश्वभर लोकप्रिय रहेको ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने गरि सरकारले बजेटको बिनियोजन गरेको छ।

सरकारले चालू आर्थिक वर्ष अर्थात २०८०÷८१ का लागि २ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बजेटको बिनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको