काठमाडौँ। सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनलमा कोलकाता ८ विकेटले विजयी भएको हो। कोलकाताको तेस्रो आईपीएल उपाधि हो।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स पञ्जाब ११ (पञ्जाब किंग्स)लाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिए।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।

मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको