धुलिखेल : नेविसंघ काभ्रेपलाञ्चाेक जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा सहकारी ठगलाई कारवाहि माग गर्दै ज्ञापनपत्र बुझाएकाे छ । नेविसंघका काभ्रे अध्यक्ष अञ्जनराज खतिवडाकाे नेतृत्वमा गएकाे टाेलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाउने केन्द्रीय समितिकाे परिपत्र थियाे। साेही अनुसार काभ्रेमा पनि नेविसंघले ज्ञापनपत्र बुझाएकाे अध्यक्ष खतिवडाले बताए ।
के छ माग ?
१. सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दछौं ।
२. सहकारी ठगीमा संलग्न सहकारी सँस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न माग गर्दछौँ ।
३. विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गर ।
४. उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गर्दछौँ ।