लामोसाँघु । लामोसाँघु फुटबल क्लब सिन्धुपाल्चोक जिल्ला लिगमा रेलिगेशनमा परेको छ। लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बुधलबार सम्पन्न खेलमा न्यू जेनेरेसन क्लबसँग १-० गोल अन्तरले पराजित हुँदै लामोसाँघु रेलिगेशनमा परेको हो।
बिहान ८: ३० बजेको लागि तय भएको खेलमा विवाद उत्पन्न भएको थियो। उक्त विवादका कारण खेल हुन ढिलाइ भएको थिए। त्यसपछि दुवै टोलीलाई सहमति गराएर खेल दिउँसो सञ्चालन गरिएको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जेनेरेसनको जितमा सुजन स्याङ्बोले गरेको गोल निर्णायक बन्यो। हारसँगै लामोसाँघुले जिल्ला लिगमा सहभागी हुन क्वालिफायर खेल्नुपर्ने भएको छ।
यस्तै, नियमविपरीत बाहिरी जिल्लाको खेलाडीलाई समावेश गरेको भन्दै धार्पाले बाह्रदेवीमाथि लगाएको प्रोटेस जितेको छ। योसँगै बाह्रदेवीले सेमिफाइनल खेल्न नपाउने भएको छ। त्यस्तै, बुधलबार दिउँसो ३:३० बजेका लागि तय भएको खेल भोलि बिहान ८: ३० बजे हुने छ। सेमिफाइनलको खेल शुक्रबार हुनेछ।





