काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरूद्द सहकारी ठगीकाे विषयमा कमेन्ट गर्दा प्रहरीले टर्चर गरेकाे भन्दै एक युवाले विष सेवन गरेका छन् । गणेशमान सिंह ठकुरी नाम गरेका युवाले गृहप्रशासनले दिएको मानसिक तनावका कारण आफूले `ओैषधी´ सेवन गर्नुपरेकाे अस्पतालकाे शैय्याबाट भिडियाे सार्वजनिक गरेका छन् । उनले आफूले गृहमन्त्री लामिछानेमाथि अहिले उठिरहेकाे सहकारी ठगीकाे विषय उठाउँदा आफूलाई प्रहरीले टर्चर दिएकाे बताएका छन् ।
ठकुरी त्रिभुवन विश्वविद्यालयमा अध्ययननरत विद्यार्थी हुन् । उनले आफूलाई कमेन्ट लेखेकाे विषयलाई लिएर सिआइबीले टर्चर दिईरहेकाे आफ्ना साथीहरूलाई बताएका थिए । विष सेवन गर्नुअघि पनि उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्याम ओझालगायतलाई म्यासेज गरेका थिए । सभापति ओझाले ठकुरीले बिष सेवन गर्न लागेकाे म्यासेज पठाएकाे बताएका छन् ।
वीर अस्पतालमा आइसियु नपाएपछि ठकुरीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएकाे त्रिविका स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।
ओझाले आफ्नाे फेसबुकवालमा भर्खरै लेखेका छन्-
फेसबुकमा रबि लामिछानेका विरुद्ध एउटा पेजमा कमेन्ट गरेका आधारमा साइबर ब्युरोले लगातार बोलाउने, धम्क्याउने, जेल हाल्ने त्रास दिने गरिरहेको थ्यो। आज पनि बोलाएर धम्क्याए पछि साथीले सहन नसकेर विष सेवन गर्नु भएछ अनि बिहान निम्न अनुसारको म्यासेज पठाएपछि हामी खोजिमा लाग्यौं! तर ब्यूरोकाे ** नम्बरले केस हेरिरहेको थाहा पाए पछि बीस खाएको म्यासेज आएको छ, हेर्नुस त के भयो भन्दा उल्टै हामीलाई धम्क्याएर फोन राखियो´, सभापति ओझाले स्टाटस लेखेका छन् । यो नियत के हो? गृहप्रशासन कसरी यस्तो भयो???अब यो देशमा चोरहरु, ठगहरु जोगिने भए, अराजकहरु सबै छुट पाउने तर केहि मान्छेमात्र निसानामा पर्ने भए! गृहमन्त्री ज्यु तपाईंको विरुद्धमा कमेन्ट गर्न नपाउने कस्तो लोकतन्त्र हो यो, कस्तो गृहप्रशासन?



