काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । मंगलबार भद्रकाली क्षेत्रमा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट आफ्ना नेता कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन् ।

अध्यक्ष लिङ्देनले प्रदर्शमा सम्बाेधन गर्दै भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौं। आजबाट गृहमन्त्रीको राजीनामाको मत पनि राप्रपाले थपेर अघि लैजान्छ। ४० बुँदेमा १ बुँदे माग थपियो।’

यसअघि कांग्रेसले संंसदमा सहकारी ठगीकाे मुद्दामा मुछिएपछि लामिछानेकाे राजीनामा माग गरिरहेकाे छ ।



