सुन साइँली, साइँली, परदेशबाट म आउँला
सुन साइँली, साइँली, चालिस कटेसी रमाउँला
हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो। तर वास्तविकता फरक छ । यो गीतका गीतकार हर्क साउद, जो अहिले उमेरले ४२ को यात्रामा छन्, न त ‘साइँली’लाई सम्झिएर परदेशिए, न त ‘साइँली’सँग चालिस कटेसी रमाए नै । उनी काठमाडौंमै छन्, गीत लेखनसँगै व्यापार व्यवसायमा व्यस्त छन् ।
सांगीतिक जीवनमा ‘सुन साइँली’हर्कको पहिलो गीत हो । जुन गीत अहिले जोकोहीको मन र दिमागमा बसिसकेको छ । पहिलो गीत नै ‘सुपरहिट’ भएपछि हर्कले पछाडि फर्केर हेर्नुपरेन ।
चालिस काट्दा नरमाएका हर्क
हर्कलाई भेट्ने अधिकांशले उनी चालिस कटेपछि रमाएका छन् या छैनन् भनेर सोध्ने गर्छन् । किनकी उनले यो गीत लेख्दा उमेरले ३५ छेउछाउ थिए । अहिले ४० को उकालो लाग्दा पनि उनले यही प्रश्नको सामना गरिरहेका छन् ।
‘गीतको भाव र मेरो उमेरको हिसाबले रमाउनुपर्ने हो । तर त्यो रमाउने परिस्थिति तत्काललाई छैन । हामी भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता ठूला प्रकोपको सामना गरेर हिँडिरहेका छौं । अहिले पनि व्यवसाय चलाउन गाह्रो छ’, हालैको भेटमा उनी भन्दै थिए, ‘अहिले त झन् मन्दीको अवस्था छ । आर्थिक व्यवस्था तरल अवस्थामा छ । कुनबेला कतातिर ढल्किन्छ कसैलाई थाहै छैन । त्यसकारण पनि रमाइहाल्ने अवस्था बनेको छैन ।’
हर्कको बुझाईमा गीतमा यथार्थवादी भन्दा पनि मनोरञ्जन र कला संस्कृतिका विषयसँगै काल्पनिक कुरा हुन्छन् । ती कतिपय वास्तविक जीवनसँग नजिक हुन्छन् र कतिपय हुँदैनन् । ‘त्यो गीतमा भनेका कुराहरु अहिले मेरो जीवनमा लागु नभइसकेको अवस्था छ । त्यो त देश परिस्थिति अनुसार हुने हो । मैले चाहेर मात्रै हुँदैन् । गीतले भने अनुसारको रमाउन र खुशी हुन धेरै कुराले साथ दिनुपर्छ’, हर्क भन्छन् ।
कसरी जन्मियो ‘साइँली’
हर्क पुतलीसडकस्थित बागबजारमा रहेको श्रेष्ठ टेलरिङ परिसरमा रहेको आराधना क्याफेका सञ्चालक हुन् । यही क्याफेमा व्यस्त भइरहँदा संगीतकार कालिप्रसाद बासकोटासँग उनको भेट भएको हो । हर्ककै भनाईमा त्यो भेट सांगीतिक सहकार्य भन्दा पनि साथित्व र मित्रवत भेटघाट मात्र थियो ।
‘कालिप्रसाद बासकोटासँग नियमित भेट भइरहन्थ्यो । एकदिन उहाँले ‘दुरदराजका गाउँको नेपाली जनजीवनलाई समेटेर गीत लेखौं नँ’ भन्नुभयो । उहाँले भनेजस्तो दुरदराजका गाउँको नेपाली जनजीवनसँग म जोडिएको थिएँ । मेरो घर डोटी हो । जसकारण मलाई शब्द कोर्न सजिलो भयो’, उनी भन्दैथिए, ‘जोकोही विदेश जाँदा सम्झिने भनेको आफ्नै गाउँघर हो । त्यहाँको खेतीपाती हो । बेँसी फाँट हो । यो गीतमा त्यही कुराको झल्को दिएको छु ।’
हर्क विशेषत यथार्थपरक गीत कोर्न रुचाउँछन् । उनका अहिलेसम्म सार्वजनिक भएका गीत सुन्दा पनि त्यसको झल्को देखिन्छ । हर्क ‘साइँली’को रचन गर्वलाई यथार्थसँग जोड्छन् । ‘हामीले जुन बेला गीत निकाल्यौं, त्यसअघिको परिपाटी र अहिले नेपाली समाजमा भइरहेको घटनाक्रम एउटै हो । किनभने धेरै पढेलेखे पछि युरोपका मुलुक, अमेरिका, अष्ट्रेलिया जाने चलन छ । जो राम्रोसँग पढेका छन् तर देशमै केही गर्छु भन्नेले लोकसेवा लडेर सरकारी कर्मचारी भएका छन् । त्यो भन्दा अझ कमलाई चाहिँ युरोप, अमेरिका, अष्ट्रेलिया भन्दा पनि साउदी, कतार, मलेसिया जस्ता खाडी मुलुक छँदैछ नि भन्ने धारणा छ’, उनी भन्छन्, ‘हाम्रो तेस्रो वरियताक्रमको अन्तिम उद्देश्य नै त्यही हो । अहिले पनि अभिभावकहरु घरमै बसेर कुटो र कोदालो गर्नुभन्दा ‘विदेश गइदिए हुन्थ्यो’, ‘पैसा कमाए हुन्थ्यो’ भन्ने मान्यता राख्छन् । ‘सुन साइँली’ त्यही सन्दर्भमा लेखिएको गीत हो ।’
‘सुन साइँली’मा चालिस नै किन ?
गीतमा ‘चालिस’ जोडिनु प्रतिको बुझाई आम मानिसको आ–आफ्नै छ । तर हर्कको बुझाई भने अलिक भिन्न छ । ‘१६ वर्षमा एसईई पास गरेपछि विद्यार्थीहरु पासपोर्ट बनाउन थालिहाल्छन् । उनीहरुको चाहना विदेशमा गएर पढ्ने नै हुन्छ । विदेश गइसकेपछि समयको अन्तराल भनेको २० वर्ष पछि नै हो । २० वर्ष�
