दोलखा । नेपाली कांग्रेसका युवा नेता राकेश शिवाकोटीले पार्टीको नेतृत्व चयन प्रक्रियामा भुइँ तहका कार्यकर्ताको लोकतान्त्रिक अधिकार कुण्ठित गरिएको भन्दै प्रश्न उठाएका छन्। कांग्रेसको केन्द्रीय नेतृत्वमा सभापति गगन थापा सर्वसम्मत र उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको प्रसंग उल्लेख गर्दै शिवाकोटीले सर्वसम्मत हुने वा निर्वाचनमार्फत नेतृत्वमा पुग्ने अधिकार केन्द्रीय नेतृत्वका लागि मात्रै हो कि भुइँ तहका कार्यकर्ताका लागि पनि हो भन्ने प्रश्न गरेका छन्। उनले दोलखामा मनोनयन दर्ता भइसकेपछि पर्याप्त सहमतिको प्रयास र उम्मेदवारहरूबीच सार्थक संवाद नगरी एकाएक ‘सहमति’ घोषणा गरिएको दाबी गरेका छन्।
‘हामी सहमतिको विरोधमा होइनौँ। सहमति आफैँमा लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्छ,’ शिवाकोटीले भनेका छन्, ‘उम्मेदवारी दर्ता गरिसकेका साथीहरूको अधिकार सुरक्षित नगरी, निर्वाचनको बाटो बन्द गरेर थोपरिएको सहमति स्वीकार्य हुँदैन।’
उनले कांग्रेसलाई साँच्चिकै बदलिएको पार्टी बनाउने हो भने परिवर्तनको अभ्यास केन्द्रीय नेतृत्वमा मात्रै सीमित हुन नहुने बताएका छन्। वडा, पालिका, क्षेत्र र जिल्ला तहसम्म लोकतान्त्रिक अभ्यास समान रूपमा लागू हुनुपर्ने उनको भनाइ छ।
‘केन्द्रीय नेतृत्वमा सर्वसम्मति स्वीकार्य हुने, तर भुइँ तहका युवालाई आफ्नो प्रतिनिधि छान्ने अवसरसमेत नदिने हो भने बदलिएको कांग्रेस र पुरानै कांग्रेसबीचको अन्तर कहाँ रह्यो ?’ उनले प्रश्न गरेका छन्।
शिवाकोटीले दोलखाको अधिवेशन प्रक्रियामा उठेका प्रश्नलाई गम्भीर रूपमा सम्बोधन गर्न केन्द्रीय निर्वाचन समिति र कांग्रेस सभापति गगन थापाको ध्यानाकर्षणसमेत गराएका छन्।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको अभ्यास सबै तहमा समान हुनुपर्नेमा जोड दिँदै उनले विधि र प्रक्रियामाथि प्रश्न उठ्ने गरी गरिएको सहमति स्वीकार्य नहुने बताएका छन् ।शिवाकोटीले महाधिवेशन प्रतिनिधिमा मनाेनयन दर्ता गराएका थिए ।
।




