पुष्प खड्का, शैलुङ । नेपाली काँग्रेसका निष्ठावान् साथीहरू !

नेपाली कांग्रेस दोलखाको पन्ध्रौं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका क्रममा ‘सहमति’को नाममा अवैधानिक एवं एकतर्फी रूपमा घोषणा गरिएको नतिजाप्रति म मेरो घोर आपत्ति र गम्भीर असहमति प्रकट गर्दछु ।

लोकतन्त्रको आधारभूत मर्म, आत्मा र प्रमुख स्तम्भ भनेकै विधिको शासन हो। तर, पार्टीको विधि, विधान र स्थापित पद्धतिलाई पूर्ण रूपमा धज्जी उडाउँदै, कसैले एकतर्फी रूपमा ‘सर्वसम्मत’ घोषणा गर्दैमा त्यो कहिल्यै वैधानिक सर्वसम्मत हुन सक्दैन। दोलखाको नेपाली काँग्रेस भनेको सीमित नेताको निजी कब्जा वा स्वार्थपूर्ति गर्ने थलो होइन, यो हजारौँ निष्ठावान् कार्यकर्ताको रगत र पसिनाले सिञ्चित साझा घर हो। नेपाली काँग्रेसलाई लोकतन्त्रको जननी पार्टी मानिन्छ, तर दुर्भाग्यवश, पन्ध्रौं महाधिवेशनमा दोलखा काँग्रेसभित्र लोकतान्त्रिक मूल्य-मान्यता र पद्धतिको खुला चिरहरण गरिएको छ।

कांग्रेसले अबलम्बन गर्दै आएको एउटा सुन्दर नीति सहमति सहकार्य र एकताको नीति हो । नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत दोलखा जिल्लामा पनि सकेसम्म सहमति होस् भनेर प्रयास गर्नु सराहनीय कदम हो । सहमतिको प्रयास गर्नु सराहनीय कुरा भएपनि नेपाली काँग्रेसको अर्को सुन्दर विशेषता उसले अपनाउने आन्तरिक लोकतन्त्र हो । अर्थात् सहमति नभए आफूहरुबीचमा प्रतिस्पर्धा गरि श्रेष्ठता हाशिल गर्नु । लोकतान्त्रिक संस्थाहरुमा यसकै निम्ति निस्पक्ष निर्वाचन समितिको कल्पना गरिएको हुन्छ । नेपाली काँग्रेस दोलखाको प्रदेश तथा क्षेत्रिय अधिवेशन कार्यतालिका बमोजिम निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको मनोनयन दर्ता गर्‍यो। विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशित भयो। कतिपय पदहरुमा आवश्यक पद संख्यामात्र उम्मेदवारी परेको हुँदा सर्वसम्मत निर्वाचित भयो भने कतिपय पदहरुमा आकांक्षीहरुबिच छलफल गरि सर्वसम्मत गरिएको अबस्था भएको भएतापनि आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेका पदमा सहमति नभए निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्नेमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूसँग कुनै छलफल नगरी, कसैको सहमति वा मञ्जुरी नलिई, कसैको निहित स्वार्थ अनुकूल हुने गरी पदको वण्डा लगाइयो । निर्वाचन समितिले निर्वाचनको बाँकी वैधानिक प्रक्रिया नै ठप्प पार्यो। यसबाट निर्वाचनको निस्पक्षता र बैधानिकता पनि बाँकि रहेन ।

वडा-वडाबाट चुनिएर आएका क्षेत्रीय प्रतिनिधिहरूलाई कहिले `आज चुनाव हुन्छ, कहिले सहमति हुन्छ´ भन्दै ‘सहमति’को बहाना बनाएर निरन्तर गुमराहमा राखियो। अन्त्यमा, उम्मेदवारहरूबीच कुनै संवाद नै नगरी आफूखुशी ‘सर्वसम्मत’ भएको स्वघोषणा गरियो, त्यस अवैधानिक नतिजा पूर्णरुपेण अस्वीकार्य छ ।

प्रतिनिधिमुलक उदाहरणका लागि- म नेपाली काँग्रेसको क्रियाशील सदस्यको रूपमा विधानको परिधिभित्र रही सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको थिएँ। सोही जगमा निर्वाचन समितिले तोकेको मापदण्ड र प्रक्रिया पालना गर्दै तोकिएको दस्तुर बुझाई दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि पदका लागि मनोनयन दर्ता गराएको थिएँ। मैले हालसम्म पनि आफ्नो उम्मेदवारी कुनै पनि बेहोराले फिर्ता लिएको छैन। मलाई कुनै सोधपुछ नगरि, मेरो कुनै किसिमको मञ्जुरी स्वीकृती नलिई, ‘सर्वसम्मत’को नाममा सो क्लस्टरमा अन्तिम उम्मेदवार सूचीमा नाम समेत नभएको कसैलाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको घोषणा गरिनु पूर्णतः गैरकानुनी, गैरसंवैधानिक र स्वेच्छाचारी कदम हो।

यहाँ मुख्य प्रश्न जो सर्वसम्मत निर्वाचित भएको भनियो अमुक व्यक्तिसँगको कुरा कदाचित होइन र मैले नपाएकै कारणले यो असहमति व्यक्त गरिरहेको पनि होइन। जो-जो आउनुभएको छ पार्टीकै नेता आउनुभएको छ । उहाँहरु सम्मानयोग्य हुनुहुन्छ । मुख्य कुरा त नेपाली काँग्रेसले अबलम्बन गर्ने विधि, पद्धति, स्थापित प्रणाली र लोकतान्त्रिक आचरणको हो । संगठनको नेतृत्व कसैको निगाहबाट होइन, प्रतिनिधिहरूको खुला र निष्पक्ष छनोट वा आकांक्षीमध्येको सर्वसम्मतमा हुने स्थापित मान्यता रहि आएको छ । निष्ठा, त्याग, समर्पण र लोकतान्त्रिक मूल्यलाई तिलाञ्जली दिँदै, केवल आफू र आफ्नालाई केन्द्रमा राखेर चुनिएको नेतृत्वले कहिल्यै पनि आम काँग्रेसजनको सच्चा भावनाको प्रतिनिधित्व गर्न सक्दैन।

जो साँच्चै सर्वसम्मत र निर्विरोध बन्नुभयो उहाँहरु असली बधाईका हकदार हुनुहुन्छ । म हृदयदेखी नै उहाँहरुलाई बधाई ज्ञापन गर्दछु । तर, अहिले कतिपय ‘सर्वसम्मत’ भन्दै अन्य उम्मेदवारको सहमति स्वीकृति बेगर निर्वाचित घोषित हुनुभएका आदरणीय नेताहरुहरूप्रति पनि मेरो कुनै व्यक्तिगत द्वेष वा गुनासो छैन। उहाँहरू पार्टीमा सदा आदरणीय व्यक्ति हुनुहुन्छ। तर, मेरो प्रश्न छ, के उहाँहरूले गर्वका साथ “म दोलखाका सम्पूर्ण काँग्रेस कार्यकर्ताको साझा र वैध प्रतिनिधि हुँ” भन्न सक्नुहुन्छ? प्रतिस्पर्धीलाई छलेर, उसको स्वीकृति नै नलिई, अन्तै कतैबाट आएको सूची बमोजिमको सर्वसम्मत न नैतिक रूपमा सम्भव छ, न त वैधानिक रूपमा नै।यस्तो गैरकानूनी प्रकृयालाई के कति आधार कारणले निर्वाचन समितिले वैधता दिन्छ त्यो समयक्रममा परिक्षण एवं मुल्यांकन हुँदै जाला ।

व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई माथि राखेर नेपाली कांग्रेस बनेका कैयौँ निष्ठावान् कार्यकर्ताहरूको मर्म र भावनामाथि निर्मम प्रहार गर्दै ‘परिवर्तित’ भनिएको पार्टीमा भएको अबैधानिक कार्यशैलीप्रति पुनः गम्भीर असहमति जनाउँछु। विधि छलेर भएपनि ‘सर्वसम्मत’ घोषित सम्पूर्ण नेताहरुलाई हार्दिक बधाई छ । पार्टीभित्र मौलाएको यो स्वेच्छाचारिता, अवैधानिक कदम र अलोकतान्त्रिक अभ्यासबाट गहिरो निराशा व्यक्त गर्दछु । तथापि, नेपाली काँग्रेसको मुलभुत सिद्धान्त र लोकतन्त्रप्रतिको मेरो अगाध श्रद्धा र सम्मान सदैव कायम रहनेछ।

सबैलाई धन्यवाद । सबैलाई बधाई । सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको