काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।

उनले भने, ‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङमा नलिने निर्णय भएको छ। साथै सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो।’

बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणका लागि बनाएको नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। अघिल्लो गठबन्धनमा दलहरुले सीट बाँडफाँट गरेर सहमतिमा उम्मेदवारी दिँदै आएका थिए। यसपटकको गठबन्धनमा आफू सामेल भए पनि निर्वाचनमा भने भाग लिने निर्णय रास्वपाले गरेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको