आगामी चार वर्षसम्म चल्ने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो शृंखलामा घरेलु टोली नेपालले एक जितसहित अन्त्य गरेको छ। नामिबया र नेदरल्यान्ड्ससँग भएको शृंखलामा नेपालले एक जित मात्रै हासिल गर्न सक्यो। पहिलो र तेस्रो खेलमा नामिबियासँग ४ र २ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।

शृंखलाअन्तर्गत आइतबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित भयो। नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै पूरा गर्‍यो। नेदरल्यान्ड्सका माइकल लेभिट र म्याक्स ओ डाउडले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। तर, नवौँ ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले माइकललाई ३९ बलमा बोल्ड गरे।

अर्को १० रन बनाउँदा नेदरल्यान्ड्सले दोस्रो विकेट गुमायो।

उसको अर्का ओपनर म्याक्स ओ डाउडलाई ललितनारायण राजवंशीले विकेटकिपर आशिफ शेखबाट २८ रनमा क्याच गराए। तर, विक्रमजित सिंह र साइब्रान्ड एंगलब्रेक्टले १०२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए।

सिंहले ९२ बलमा ७ चौकासहित अविजित ५८ रन बनाए। साइब्रान्डले अविजित रहँदै ७५ बलमा ३ चौकासहित ४६ रन बनाए।

नेपालका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीको नाममा १र१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

नेपालका लागि ओपरनद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। यद्यपि, आशिफ नवौँ ओभरको तेस्रो बलमा बास डे लिडबाट सिल्ली मिडअनमा १७ रनमा क्याच आउट भए। उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे।

११औँ ओभरको अन्तिम बलमा अनिलकुमार साह ७ रनमा भीभीएन किंग्माबाट बोल्ड भए। चौथो नम्बरमा कृजमा आएका कुशल मल्ल पनि आर्यन दत्तबाट २ रनमा बोल्ड हुँदा नेपाल १२।६ ओभरमा ३(५४ को स्थितिमा थियो।

कुशल भुर्तेल र रोहितकुमार पौडेलले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए। तर, रोहित २५औँ ओभरको तेस्रो बलमा दत्तको बलमा १६ रनमा क्याच आउट भए।

दीपेन्द्रसिंह ऐरी १ रनमा रन आउट हुँदा भीम सार्की ८ बल खेल्दै खाता नखोलि बास डे लिडबाट क्याच आउट भए।

जमेर खेलिरहेका कुशल भुर्तेल ३७औँ ओभरको तेस्रो बलमा रोलफ भान डर मर्वबाट कट एन्ड बोल्ड भए। उनले ९३ बलमा ८ चौका सहित ६६ रन बनाए।

गुल्शनकुमार झा ५ रनमा आउट हुँदा आरिफ शेख २२ रन बनाउँदै सर्ट मिडअफमा २२ रनमा किंग्माबाट क्याच आउट भए। यस्तै, करण केसी २६ रन बनाउँदै डीप एक्ट्रा कभरमा बास डेबाट क्याच आउट भए। ललितनारायण राजवंशी ४ बल खेल्दै अविजित रहे।

नेदरल्यान्ड्सका भीभीएन किंग्मा र आर्यन दत्तले ३र३ विकेट लिए। बास डे लिडले २ विकेट लिँदा रोलफ भान डर मर्वको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको