हामी उज्याला दिनहरुको ब्यग्र प्रतिक्षामा छौं

आदरणीय सभापतिज्यू, पदाधिकारीज्यू, केन्द्रीय सदस्यज्यूहरु, गर्विलो इतिहास, आशाले भरिएको वर्तमान र सुनौलो भविश्यको कल्पनासहित देशभरबाट पाल्नुभएका महासमिति सदस्यहरुमा जय नेपालको न्यानो अभिवादन ।

हामीलाई हाम्रा अग्रजहरुले गर्विलो इतिहास बोकेको पार्टी छोडेर जानुभएको छ । संस्थापक नेताहरुले प्रजातन्त्र, नागरिक अधिकार र देशको समृद्धिका लागि स्थापना गर्नुभएको नेपाली कांग्रेसको बिरुवालाई हुकाई बढाई जीवन्त हरियो राख्न हरेक अप्ठ्यारा प्रहरलाई सामना गर्ने तल्लो तहदेखी माथिल्लो नेतृत्वमा रहेर काम गरिरहनुभएका नेताहरुप्रति म उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली कांग्रेस र नेपाली जनताको सुनौलो भविश्यको कल्पनासहित वर्तमानमा नेतृत्व हाँकिरहनु भएका नेता साथीहरु यतिखेर हामी नयाँ कालखण्डमा उभिएका छौं । विश्व इतिहास हेर्ने र पढ्ने हो भने व्यवस्था परिर्वतन र सेवा प्रवाहमा सिलसिलाबद्ध फेरबदल देखिएको छ । यसर्थ अब हामी हाम्रा अभिभावकको अनुभवबाट सिक्दै वहाँहरुको अभिभावकीय भूमिका सहित भविष्यका लागि हामी आफैंले काम गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
बिगत र बर्तमानमा पार्टी शिर्ष नेताहरुबाट देश र जनताका लागि जे जति योगदान भयो त्यसप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं, वहाँहरुप्रति हाम्रो उच्च सम्मान छ । हामी एउटा सत्यको नजिक छौं, अब औंसीको रातमा कांग्रेसको चाँदीको घेरा भनेकै युवा पुस्ता हो । यसलाई नघुमाई भन्ने हो भने अब व्यवस्था परिर्वतनपछिको अवस्था परिर्वतनका लागि चाँदीको घेरा भनेकै युवा नेतृत्व हो । यसलाई स्विकार गर्दै तपाई हामी अब नयाँ अभियानमा होमिनुपर्ने बेला आएको छ ।

पछिल्लो परिदृष्यमा देखिएका केही नयाँ भनिने पार्टी र नयाँ जस्तो देखिएका नेताहरुबाट नेपाली जनताको सुनौलो भविष्य प्राय असम्भव छ । सम्भव छ त नेपाली कांग्रेसको नेतृत्वमा । अब जनताको अवस्था परिर्वतनका लागि नेपाली कांग्रेसलेनै नेतृत्व लिनै पर्दछ । अफवाह र प्रतिशोधले भरिपूर्ण राजनीतिको पछाडी बहकिएका जनतालाई वास्तविक परिस्थितिबारे बुझाउँनै पर्छ । जनता बहकिनुको जिम्मेवारी केही प्रतिशत हाम्रो पनि होला । स्विकार गर्नै पर्छ, देशभर नयाँहरुको लहर र लहड छ, हामी कांग्रेसजनले त्यो भावलाई पनि समात्नुपर्ने हुन्छ ।

सँगै म यहाँ जोडन चाहन्छु, पार्टी महामन्त्रीहरुले पेश गर्नुभएको प्रतिवेदन पढदा बढ्ता रक्षात्मक देखिन्छ । हामीले के बुझ्न जरुरी छ भने हामी बजारमा देखिएका भलबाढी होइनौं, उदाहरणका लागि २०६४ चुनावपछिको परिणाम नसोचेको आएको थियो । हामी यस्ता उदाहरणबाट सचेत हुनै पर्दछ तर बिचलित भने हुन जरुरी छैन । नेपाली कांग्रेस अबिरल बगिरहने नदि हो । हामी खहरे भलको गडगडाहटबाट आतिनु हुन्न । सिंगो देशको समृद्धिको जिम्मा नेपाली कांग्रेसकै काँधमा छ भन्ने जिम्मेवारी बोध हुनु पर्दछ । ति स–साना खहरे खोलाहरु आएर मिसिने भनेकै अबिरल बगिरहने इन्द्रवतीमै हो ।
इतिहास बनिसक्नु भएका र वर्तमान नेतृत्वमा रहनुभएका नेताहरुप्रति नेपाली जनताले ठूलो सम्मान व्यक्त गरेकै छन् । व्यवस्था परिर्वतनका खातिर नेताहरुले गर्नुभएको त्यागको सम्मानपनि भएकै छ । अब त्यो सम्मानलाई थप उचो बनाउन पार्टीभित्रको शिर्ष नेतृत्वमा रहनु भएकाहरुले मैले माथि भने जस्तै त्यो चाँदीको घेरालाई समयमै चिन्न अब ढिला भने गर्नु हुन्न ।

मैले यहाँ थोरै बिदेशमा रहेका समस्या र पार्टीको शुभेच्छुक संस्थाका बारेमा केही बोल्नै पर्दछ । बिभिन्न बाध्यता र परिस्थितिका कारण बिदेशमा रहेका नेपालीहरुलाई हामीले देशको समृद्धिसँग जोडनु पर्ने आवश्यकता छ । त्यसका लागि अहिले जारी भएको नागरिकताले यथोचित सम्बोधन गरेको देखिन्न । बाध्यता र परिस्थितिले बाहिरिएका हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुले पाउने नागरिकतामा मातृभूमि फर्किँदा पुनः भिसा लिनुपर्ने भएकाले प्रवासमा रहेका नेपालीहरु बेखुसी रहेको जानकारी समेत गराउँदछु । साथै नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिको अधिवेशन समयमै नहुँदा हाम्रा थुप्रै साथीहरु बिभाजित मानसिकतामा हुनुहुन्छ, यसको सम्बोधन पनि पार्टीले समयमै गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।

बाँकी आम लोकतन्त्रवादीले चिन्ता गरे जस्तै, उर्जाशिल, परिर्वतनको सम्वाहक र भविष्यको कर्णधार कांग्रेस बन्नै पर्छ भन्ने भनाईमा जोड दिँदै, आफ्ना भनाई यहीँ अन्त्य गर्दछु । धन्यवाद, जय नेपाल !

हरिबोल भण्डारी
महासमिति सदस्य,
काठमाडौं ३ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको