काठमाडौं : नेविसंघले उपकुलपतिका लागि निकालिएकाे सूचनामा आपत्ति जनाएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै उपकूलपतिका लागि राखिएकाे प्रावधान  ‘योग्यता प्रणालीमा आधारित खुल्ला प्रतिष्पर्धा’ प्रतिकूल देखिएकाे भन्दै याेग्यले प्रतिस्पर्धा गर्न पाउने अवस्था बनाउन माग गरेका छन् ।

हेर्नुस् नेविसंघकाे विज्ञप्ति 
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले यही मिति २०८० पुस २० गते प्रकाशित गरेको दरखास्त आव्हान सम्बन्धी सूचना प्रति नेपाल विद्यार्थी संघ को गम्भिर ध्यानाकर्षण भएको छ । उक्त सूचनामा उपकुलपति पदका लागी निर्धारित योग्यताको मापदण्डले त्रिभुवन विश्वविद्यालयका पूर्व पदाधिकारी मात्रै उपकुलपति पदका लागी योग्य हुने प्रावधान सिद्धान्त ‘योग्यता प्रणालीमा आधारित खुल्ला प्रतिष्पर्धा’ प्रतिकूल देखिन्छ । त्रिभुवन विश्वविद्यालयका पूर्व पदाधिकारी बाहेक शिक्षा जगतमा गहिरो अनुभव एवं दक्षता हासिल गरेका योग्य व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागी दरखास्त समेत दिन बाट बञ्चित हुनेहुँदा उपकुलपति नियुक्तिका लागी प्रकाशित दरखास्त आव्हान सम्बन्धी सूचनाले विश्वविद्यालय पुनः दलियकरण हुने आशंका पैदा गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको ४९ औ दीक्षान्त समारोह लगायत विभिन्न सार्वजनिक कार्यक्रम एवं बैठकहरूमा त्रिभुवन विश्वविद्यालयका कुलपतिको समेत जिम्मेवारी सम्हाल्नु हुने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयको उपकुलपति लगायतका पदाधिकारी, सदस्यहरू योग्यता प्रणालीको आधारमा नियुक्ति गर्ने अभिव्यक्ति दिएपनि उल्लेखित पुस २० गते प्रकाशित उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान सम्बन्धी सूचनाको बुँदा नं. ङ र प्रधानमन्त्रीको अभिव्यक्ति बाझिएकोे छ ।
। यद्यपि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हान सम्बन्धित सूचना केही हद सम्म सकारात्मक देखिए पनि त्रिभुवन विश्वविद्यालयको हालसम्मको अवस्था हेर्ने हो भने विगतका कतिपय पदाधिकारीहरूको कमजोरी, अक्षमताको उपज भएको छर्लंगै छ । यसर्थ फेरिपनि योग्यताको नाममा तिनै असक्षम पदाधिकारीलाई घुमाई फिराइ विश्वविद्यालयको नेतृत्वमा लैजाने विषय कपटपूर्ण र अपरिपक्व रहेको देखिन्छ ।
अतः त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८० को तत्काल संशोधन गरी स्वतन्त्र रुपमा योग्य सम्पूर्ण व्यक्तिले प्रतिष्पर्धा गर्ने वातावरण निर्माण गर्नको लागि नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ ।

जय नेपाल ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको