काठमाडौं : नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण देशनै शाेकमा रहेकाे भन्दै तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकाले तिहारसम्मको कार्यक्रम स्थगित गरेकाे हाे
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र पालिकास्तरमा पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ ।
पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी पौडेलले बताए ।
हेर्नुस् विज्ञप्ति –
तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन
(महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम बाहेक)
जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा गए राति आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ । स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले सबैमा अपिल समेत गरिसकेको छ ।
यसै सन्दर्भमा, पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु÷गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।
नोट ः पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको भएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी गराइन्छ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव




