काठमाडौँ, २ कार्तिक । काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा गरेको आक्रामक भाषणले पूर्वमन्त्री रामकुमारी झाँक्री फेरी एक पटक चर्चामा आएकी छन् । एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी उनी एनआरएनलाई नै गाली गरेर भाईरल भएकी हुन् ।

हालैमात्र सरकारले गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकता वितरण गर्ने नीतिलाई कार्यान्वयनमा ल्याएको सन्दर्भमा एनआरएन सम्मेलनमा यस विषयमा छलफलको सेसन राखिएको थियो । यस छलफलमा चित्रलेखा यादव, डा। सुर्य पाठक र झाँक्री लगायत प्यानलिस्टका रुपमा निम्त्याइएका थिए ।

छलफलको क्रममा बेलायतबाट आएका एक प्रतिनिधिले सरकारले वितरण गरेको नागरिकताको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले राजनीतिक अधिकारबिनाको नागरिकता कागजको खोस्टोसरह भएको बताए ।

ती प्रतिनिधिले भनेका थिए, ‘नेपालमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा म र मेरो परिवार सहभागी छौं । हामी रहरले विदेशिएका होइनौं । रहरले नागरिकता त्यागेका होइनौं । अहिले नागरिकता भनेर जुन कागजको खोस्टो बाँडिएको छ, त्यसको कुनै औचित्य छैन । नागरिकता दिनु तर राजनीतिक अधिकार नदिनु भनेको मानव अधिकारको विरुद्धमा हो । यसका लागि भोलि कुल आचार्यले फाँसीको हकदार बन्नुपर्ने हुन सक्छ ।’

उनले यो पनि थपे, ‘कि तपाईंहरू हट्नुस गैरआवासीय नेपालीलाई बोलाउनुस्, अनि देश बनाउन सुरू हुन्छ ।’

अन्य दुई प्रतिनिधिले पनि एनआरएनलाई दिइएको नागरिकतबाारे असन्तुष्टि प्रकट गरेका थिए । त्यसपछि झाँक्रीलाई बोल्न समय दिइएको थियो । आफूले बोल्ने पालो आउँदासम्म झाँक्री निकै आक्रोशमा आइसकेकी थिइन् ।

उनले भाषणको सुरूमै भनिन्, ‘तपाईंहरूजस्तै चिच्याएर जवाफ दिन त आउँथ्यो मलाई । तर, यहाँ अतिथि भएको हुनाले चिच्याउन मिलेन ।’
प्रश्न उठाउनेहरूमाथि उनले निकै कडा जवाफ फर्काइन् । एनआरएनको सातो खाएको भन्दै सामाजिक सञ्जालमा झाँक्रीको वाहवाही भइरहेको छ । यद्यपि, एनआरएनहरूले भने उनको भाषा शैली र प्रस्तुतिलाई लिएर चित्त दुखाएका छन् । खासगरी, ‘रेस्टुरेन्टमा काम गरेर फुर्सद नभएको’ र ‘सिपाही मानसिकता देखाएको’ भन्ने टिप्पणीमा उनीहरूको आपत्ति छ ।

झाँक्रीले नागरिकताको प्रसंगमा एनआरएनहरूमाथि ‘औंलो दिँदा डुँडुलो निल्न खोजेको’ आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको