काठमाडौं, ८ असोज । आयोजक नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोलले पराजित गर्दै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। नेपालको जितमा समीर तामाङले दुई गोल गर्दा प्रशान्त लक्षम र निराजन धामीले एक-एक गोल गरे।

खेलको १६औं मिनेटमा नेपाललाई अग्रता दिलाउन प्रशान्त लक्षमले पहिलो गोल गरे। २९औं मिनेटमा समीर तामाङले टिमका लागि दोस्रो र व्यक्तिगत गोल गरे। तर, त्यसपछिको खेल तनावपूर्ण रह्यो। त्यसको केहीबेरपछि ३५औं मिनेटमा मैदानमै दुई खेलाडीबीच विवाद र झगडा भएपछि रेफ्रिले नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसानलाई रेडकार्ड दिए।

दोस्रो हाफमा माल्दिभ्सले एक र नेपालले थप दुई गोल गरे। माल्दिभ्सका लागि खेलको ५८औं मिनेटमा आदम लयानले सात्वना गोल गर्दै २-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८८औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दा खेल ३-१को स्थितिमा पुग्यो। इन्जुरी समयमा समीर तामाङले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल नेपालले ४-१ गोलले जित्यो। नेपाल रहेको समूहमा भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बनेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको