काठमाडौँ, १ असोज । त्रिवेणी गाउँपालिका-२ काभ्राका धामीढुंगामा घरको कोठामा ग्यास लिक भएर आगलागीमा मृत्यु भएका भनिएका आमाछोरीको हत्या भएको प्रहरीले आशंका गरेको छ । कोठामा ग्यास लिक नभएकाले प्रहरीले शंका गरेको हो ।

भदौ ३० गते बिहान ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत फेला परेका थिए। आफ्नै घरको कोठामा शरीरको आधा भाग जलेको अवस्थामा उनीहरूको शव फेला परेको थियो। बिहान साढे ६ बजेसम्म पनि उनीहरू नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा आमा-छोरी सुतेको कोठामा मृत फेला परेका थिए। त्यसपछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवीन कार्कीका अनुसार उक्त घरमा आमा-छोरीमात्रै बस्थे। जस्ताले छाएको उक्त घरमा दुई वटा ढोकाहरू छन्। एउटाको ढोका भित्रैबाट चुकुल लगाइएको अवस्थामा थियो। अर्कोमा भने बाहिरबाट चुकुल लगाइएको थियो। प्रहरीका अनुसार त्यो कोठामा ढोका बाहेक झ्याल वा भेन्टिलेटर छैन।

डिएसपी कार्कीले यो घटना शंकास्पद भएको बताए। आगलागीमात्रै भएर ज्यान जाने सम्भावना पनि कम भएको प्रहरी अधिकारीहरू बताउँछन्। आगलागी नै भएको भए पनि आमाले छोरी बोकेर सहज रूपमै भाग्न सकिने अवस्था रहेको प्रहरीको विश्लेषण छ।

घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानमा सघाइरहेको एसपी नवराज अधिकारीले जानकारी दिए। ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै आएका र पैतृक सम्पत्ति पनि धेरै नरहेको हुँदा कोही नजिकका आफन्तले सम्पत्ति हत्याउन अपराध गरेको भन्ने आधार नभेटिएको डिएसपी कार्कीले बताए।

रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा भारतमा छन्। श्रीमती र नाबालिग छोरीको मृत्यु भएको खबर सुनेपछि उनी सोमबार घर फर्किन लागेको प्रहरीले जानकारी दिएको छ।

सुरूमा प्रहरीले खाना पकाउने ग्यास सिलिन्डर लिक भई त्यसैबाट आगो सल्किएर घटना भएको हुन सक्ने आशंका गरेको थियो। तर प्रहरी अनुसान्धानबाट ग्यास सिलिन्डर लिक भएको नपाइएको र कोठामा आगो लागेको अवस्था रहे पनि ग्यास सिलिन्डरमा क्षति नभएको पाइएपछि घटना शंकास्पद भएको निष्कर्षमा पुगेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले सेतोपाटीलाई बताए।

प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर पनि घटना अनुसान्धान भइरहेको बताएको छ। घटना अनुसन्धानका लागि प्रहरीले मृतकका केही आफन्त र स्थानीयसँग सोधपुछ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको