काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्। प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार, राई राति मिलभित्रै बसेका थिए । प्रहरी अधिकृतहरुका अनुसार, उनी राति करिब साढे १२ बजे आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए । पछि उनी नै शंकाको घेरामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको