काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले आफ्नो पार्टीको नेतामाथि आक्रमण भएको घटनाको भर्त्सना गर्दै गृहमन्त्री असफल भएको पुष्टि भएको जनाएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल सरकारका पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको ‘सांघातिक हमलाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गर्दै घटनाको निन्दा गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भत्सर्ना गर्दछौं। देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ।’

यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनु पर्ने पनि नेविसंघले स्पष्ट पार्दै राजीनामा दिनुपर्ने माग गरेको छ। ‘राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं।’

नेविसंघले आक्रमणमा परी घाइते भएका नेता महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। नेविसंघले थप भनेको छ, ‘…साथै आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्ष बारे सुक्ष्म अनुसन्धान गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको