धनगढी : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विशेष रणनीति अपनाउनुपर्नेमा जोड दिएकी छन् । उनले निजी शिक्षण संस्थाको नतिजा उत्कृष्ट भइरहेका बेला सामुदायिक विद्यालयको गुणस्तर खस्कनु चिन्ताको विषय भएको बताइन् ।
आईतबार कैलालीको धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट सम्बन्धी सूदुरपश्चिम प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सामुदायिक विद्यालयले जस्तो किसिमको गुणस्तरीय शिक्षा दिनुपर्ने हो, हामी त्यसमा चुकिरहेका छौं । सरकारको प्रतिवद्धता छैन भने त्यो पनि होइन । बजेट छैन भनौं, बजेट पनि छ । तालिम पनि छ । तर जस्तो अपेक्षाकृत नतिजा आइरहेको छैन ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालय मर्जर गर्नुपर्ने बेला आइसकेको बताइन् । निजी विद्यालयको नतिजा राम्रो छ तर सामुदायिक र सरकारी विद्यालयहरु खुम्चिरहेका छन् । यसले गर्दा सामुदायिक विद्यालयहरु मर्जर गर्नुपर्ने बेला आइसकेको छ, उनले भनिन्, सरकारी स्रोत साधनबाट कसरी उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्नेमा हामी लाग्नुपर्नेछ ।
उनले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । रानाथारु समुदायमा नेपालमै उच्च शिक्षा हासिल गर्नेको संख्या न्यून रहेको उल्लेख गर्दै उनले भनिन्, ‘युवा विदेश पलायन डरलाग्दो अवस्था छ । यो चुनौतिलाई कसरी निकास दिन सकिन्छ भन्नेमा सरकारले काम गर्नुपर्छ । एडुकेसन कन्सलटेन्सी साँच्चिकै कन्सलटेन्सी हुन् कि म्यानपावर कम्पनी ? यसबारेमा अध्ययन गर्न जरुरी छ ।’
उनले नेपालमै पढ्दापढ्दै विद्यार्थीले कमाउने व्यवस्था गर्न सके युवाहरु स्वदेशमै बस्न सहयोग पुग्ने विश्वास गरिन् । ‘विद्यार्थीको चाहना पनि यहि हुन्छ अनि अभिभावक पनि यहि चाहन्छन्,’ उनले भनिन् ।