काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् । आज अन्तिम सुनुवाई तोकिएको थियो ।

प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको बताए । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा किशोरीको हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने कानुनव्यवसायीले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ ।

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको