काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको गत फागुन १५ गते फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेसी चढेपनि स्थगित हुँदै आएका थिए ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा किशोरीको हाल उमेर विवाद नै मुख्य विषय बनेको छ ।

पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने कानुनव्यवसायीले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ ।

संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ ।

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको