प्रिय साथी
एउटा जीवनसंगको प्रश्न छ
किन अथक जीवनले
जीवनयात्राको अर्थ पहिल्याउन सक्दैन
र,भौतारिरहन्छ खोलो जस्तै तलतल ?

धेरैले निरुत्तरित बनाए मलाई
तिमीसंग छ जवाफ
यदि छ भने भनिदेउ
म जीवनलाई कुन शब्दकोष पल्टाएर
हेर्न सकु र बुझु जीवनको परिभाषा

तिमीले सुझाएको शब्दकोषबाट
सिधा होस् जीवनको बक्ररेखा
भेटियोस् अपरिभाषित जीवनको
झिनामसिना परिचयको छनक

प्रिय साथी
मलाई
तिमीले जानेको जस्तो लाग्छ
जीवनको आयतन नाप्ने कला
तिमीले नै कुनै दिन मुखाग्र सुनाएका थियौं
जीवन-दर्शनको ज्ञानमाला

भयानक छ तिमीसंग
जीवनको हिसाब-किताब राख्ने बहीखाता
ठुलै भकारीमा जतनले राखेकध छु भनेका थियौ
आफुले फटाएको जीवनको भोटो
भनिदेउ न सखे
नङ्गा जीवन बाँचेकालाई
कुन वस्त्र धारण गराउँदा बेस होला ?
सदाचारको कस्तो पहिरन लगाउदा
ढाकिएलान् भिल्लहरुको शरीर ?

प्रिय साथी
तिमीसंग पक्कै होला
जिउन लायक नायक बन्ने
जीवनीय पद्धतिको सूत्र
जीवन बचाउने प्राणतत्वको रहस्य
जीवनदेखि मृत्यु पर्यन्त
जीवन्यास हुने प्रतिष्ठाको परिपाठ

धेरै कुरा गरेर पनि
अमूक मानिसहरूले
सिकाउन सकेनन् जीवन यापनको
यादगार उदगारहरू
लेख्न सकेनन् जीवन बाँच्ने नयाँ उपपुराण
हुन सकेनन् जीवन पुज्ने याजक

धेरै जानेकालाई
म अनभिज्ञले
तिमी जस्ता अभिजात समक्ष
अन्तिम मात्र एउटा
झिनो प्रश्न राख्ने धृष्टता गर्दैछु
प्रिय साथी
झिझो नमानी
संक्षिप्तमा मलाई बताइदिनु
मृत्योत्सव मनाउने बिधान ?
बस्
तिमी समक्ष
मेरो अन्तिम प्रश्न यही हो ।

– ऋषभदेव घिमिरे
(ललितपुर,गोदावरी)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको