काठमाडौँ। नेपाल चिकित्सक संघले डा रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र विबरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानविन गरी कडा कारवाही गर्न माग गरेको छ । सोमबार संघले आज जारी गरेको विज्ञप्तीमा डा यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको, मानमर्दन गरी न्युनतम मानव अधिकारको समेत हनन गरिएको उल्लेख छ ।

काउन्सिलले उपलव्ध गराएको विवरणको आधारमा सीआईबीले नक्कली चिकित्सकको आरोपमा डा यादवलाई २५ साउनमा नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानबाटै उनी सक्कली चिकित्सक भएको ठहर भएपछि आइतबार बेलुका सीआईबीले रिहा गरेको थियो ।

मिति २०८० श्रावण २९ गते
प्रेस विज्ञप्ति
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिकित्सक विरुद्ध चलाएको फोक्सट्रोट चार्ली मा २०८० साल श्रावण २५ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्य रञ्जितकुमार यादवलाई पक्राउ गरि मानसिक तनाव सिर्जना गरिएको, नीजको मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल मेडिकल काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सीआइबीलाई उपलब्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी प्रक्राउ गरेर समाजमा त्रसिद वातावरणको सिर्जना गर्ने, विरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पु¥याउने, तथा चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्यको जति निन्दा गरेपनि कमै हुन्छ ।

चिकित्सकीय तथा स्वास्थ्य सेवामा इमान्दारपूर्वक समर्पित भइरहेका जनशक्तिलाई क्रसिद बनाउने, पद र अख्तियारको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति जिम्मेवार पदमा रहि रहने अधिकार छैन ।

चिकित्सकहरुको मान र प्रतिष्ठासँग खेलवाड गर्ने अधिकार कसैसँग पनि नभएको एवम् यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएकोले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष जोडदार माग गर्दछ । यस घटनालाई गम्भीर रुपमा लिई कानूनी कारवाही अगाडी नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथासिघ्र कडा कदम चाल्न बाध्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको