काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिमा छुटेका नेता कार्यकर्ता व्यवस्थापनमा आफू प्रतिवद्द रहेकाे बताएका छन् । १७ महिनामा केन्द्रीय समितिले पूर्णता पाएकाे भन्दै उनले अहिले जम्बाे समिति बनाउँदा पनि छुटेकाे नेताहरूलाई व्यवस्थापन गरिने बताए ।
शेर्पाले फेसबुकमा लेखेका छन् –
आदरणीय साथीहरु जय नेपाल!
नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको दिन देखि नै केन्द्रीय समिति गठनको निमित्त निरन्तर प्रयत्न गरिरहेको थिएँ।
तिनै तहको निर्वाचन, स्ववियु निर्वाचन, उपनिर्वाचन र मातृ पार्टीको आन्तरिक गतिविधि साथै राष्ट्रिय राजनीतिको विशेष परिस्थितिको कारण करिव १७ महिनामा केन्द्रीय समितिले पूर्णता पाएको छ।
विगत लामो समय देखि हुन नसकेको महाधिवेशन, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन विभिन्न जिल्ला र क्याम्पसहरूमा साथीहरुले गर्नुभएको त्याग र मेहनतलाई सम्मान गर्न ठूलो संख्याको समिति बनाइएको छ।
अझै पनि विविध कारणवश धेरै महत्वपूर्ण साथीहरु छुट्नु भएको छ।
समितिमा नअटाएको विद्यार्थी नेता साथीहरुको समेत उचित व्यवस्थापन गर्ने कुरामा म प्रतिबद्ध रहेको छु।
नेपाल विद्यार्थी संघको कलम मसाल अंकित झण्डा मुनी रहने जिम्मेवार साथीहरु प्रति अवश्य न्याय हुनेछ।
तसर्थ आज नेपाल विद्यार्थी संघको नामबाट हुने भनिएको
कुनै भेला नरहेको र यस्ता भ्रममा नपर्नु हुन सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु। जय नेपाल