काठमाडौं: काठमाडौं विश्वविद्यालय (केयु) र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युटबीच ड्युअल डिग्री सञ्चालन गर्न सम्झौता भएको छ । ड्युअल डिग्री कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले नेपाल र अस्ट्रेलियामा दुई दुई वर्ष अध्ययन गर्न पाउने छन् । केयु र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशनबीच शैक्षिक वर्ष ०२३/२४देखि विभिन्न विषयहरुमा दोहोरो स्नातक डिग्री सञ्चालन गर्ने सम्झौता भएको हो । दोहोरो डिग्री कार्यक्रमको एक भागको रुपमा विद्यार्थीहरुले दुई वर्ष नेपाल र अर्को दुई वर्ष अस्ट्रेलियामा अध्ययन गर्नेछन् ।कार्यक्रमा पूरा गरेपछि स्नातकहरुले दुवै विश्वविद्यालयबाट डिग्री प्राप्त गर्नेछन् ।
दुवै संस्थाले संयुक्त रुपमा अध्यापन तथा अनुसन्धान, शैक्षिक सामाग्रीको आदानप्रदान, कर्मचारी र विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि, विद्यार्थीको सह पर्यवेक्षण,अध्ययन भ्रमण,सेमिनार लगायतका क्षेत्रमा सहकार्य गर्ने पनि सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्रमा केयु स्कुल अफ साइन्सका डिन प्रा. डा मनिष पोखरेल र अस्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत र क्राउन इन्स्टिच्युटका निर्देशकले हस्ताक्षर गरेका छन् ।