काठमाडौं :कार्यबाहक प्रधानमन्त्री पुर्णवहादुर खड्काले
सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानून छिट्टै ससंसदमा लैजान तयारीमा रहेको बताउनु भएको छ ।

भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै रक्षामन्त्री समेत रहनु भएका कार्यवाहक प्रधानमन्त्री खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिवद्ध रहेको समेत प्रष्ट पार्नु भयो ।


कार्यक्रममा यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियोे ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पुर्णरुपमा प्रतिवद्ध भएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गर्नु भयो ।
उहाँले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गर्नुभयो ।

कावा प्रधानमन्त्री खड्काले भन्नुभयो, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गर्नुभएको उहाँले बताउनुभयो । “परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो”, कावा प्रधानमन्त्री खड्काले भन्नुभयो ।

तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उहाँकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नुभएको कार्य प्रेरणाको स्रोत भएको बताउनुभयो ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उहाँले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाउनुभयो ।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गर्नुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताउनुभयो । “दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो”, कावा प्रधानमन्त्रीले भन्नुभयो ।

भीमसेन थापाको सच्चा सम्मानका लागि उहाँले देखेका सपना पूरा गर्न सकेन र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रुपान्तरणका पक्षमा अहोरात्र खटियौँ भने मात्र उहाँप्रति सच्च श्रद्धाञ्जलि हुने कावा प्रधानमन्त्री खड्काको भनाइ थियोे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको