काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयमा नेपाल  विद्यार्थी संघ आन्दोलनमा उत्रिएकाे छ। आइतबार संस्कृत विश्वविद्यालय अन्तर्गतकाे विभिन्न क्याम्पसका नेविसंघ इकाइले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीमाथि गम्भीर प्रश्न उठाएका छन् । संस्कृत विश्वविद्यालयको समस्या नै गैरजिम्मेवार पदाधिकारी रहेकाे उनीहरूकाे निष्कर्ष छ ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले तटस्थता, निष्पक्षता र प्राज्ञिक मर्यादाको उल्लंघन गरी सर्वमान्य कानूनी मान्यता र मर्यादाको ठाडो उल्लंघन गर्दै कुत्सित राजनीतिक पूर्वाग्रह राखी काम गरेको कुरा छताछुल्ल भएकाे  विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्तिमा के छ ? 

वर्तमान नेतृत्व र सेवा आयोगको नेतृत्वले इतिहासमै नभएको घोर अनैतिक, अमर्यादित र गैरजिम्मेवार काम गरेका छन । कानुनी प्रक्रिया पूरा गरी काम अगाडि बढाउनुपर्नेमा पूर्वाग्रह राखी काम अगाडि बढाइयो, अझ पनि त्यसलाई सच्याउनुको सट्टा बलमिच्याईं गरेर सेवा आयोग अगाडि बढ्नुका सबै रहस्यहरू बाहिर आएका छन । परीक्षा जस्तो अतिगोप्य, संवेदनशील र मर्यादित विषयलाई साह्रै हल्का, हचुवा र धाँधली गर्ने प्रष्ट मनसायले विशेषज्ञको नाम पदाधिकारी स्वयंले नै परीक्षार्थीलाई बताइदिने, प्राध्यापकको प्राज्ञिक मर्यादा र स्वतन्त्रतामाथि पदीय प्रभावका आधारमा दबाब सिर्जना गर्ने काम भए । प्रश्नपत्र निर्माणको गोपनीयतालाई धज्जी उडाउँदै विशेषज्ञको नाम सार्वजनिक गर्ने काम भयो ।

प्राध्यापकको नियुक्ति प्रक्रिया जानीजानी अवरुद्ध गरी उपकुलपति स्वयंले सार्वजनिक समारोहमा नियुक्ति नदिने जस्ता पूर्णतः गैरजिम्मेवार अभिव्यक्ति दिनु, पदाधिकारीले कतिपय विद्यार्थी समूहलाई कठपुतली बनाई प्रशासनमा बाधा पुर्याउन खुलेयाम उकास्नुले यो संस्थाकै खिलापमा पदाधिकारी स्वयं भएको पुष्टि भएको छ ।

यो विश्वविद्यालय विशिष्टीकृत संस्कृत विश्वविद्यालय हो । यसका वर्तमान उपकुलपति संस्कृत विश्वविद्यालयभन्दा बाहिरबाट ल्याइएको र संस्कृतको विशिष्ट मर्यादा र संवेदनशीलता माथि ठाडो प्रहार हुने गरी उनका अभिव्यक्ति हुनुले सिंगो संस्कृत जगत् आक्रोशित र आन्दोलित भएको छ । विश्वविद्यालयको मौलिक चरित्र विपरीत संस्कृत इतर विषयलाई प्रश्रय दिने, विश्वविद्यालयका ऐन नियम मिच्ने, संस्कृत विषयलाई नै कमजोर पार्ने जस्ता कार्यहरू बारम्बार भएका छन ।

नेपालको सर्वाधिक शक्तिशाली र जिम्मेवार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आन्दोलन गर्नुका पछाडि गम्भीर आधार र प्रमाण छन । हामी आन्दोलनमा उत्रनु कुनै खेलाची होइन । सेवा आयोगको निष्पक्षता र पदाधिकारीको जिम्मेवारी बोधको विषयलाई सप्रमाण उठाएर आन्दोलनरत छौं । विगतमा भएका कुनै पनि सम्झौता कार्यान्वय नगर्नु, मनोमानी, हचुवा र आग्रहको आधारमा विश्वविद्यालय नेतृत्व अघि बढ्न खोजुन्जेल कुनै वार्ता, संवाद र सहजता नहुने कुरा सार्वजनिक गर्दछौ ।

सेवा आयोग र विश्वविद्यालय नेतृत्वसमक्ष तत्काल आफ्नो कदम सच्याउन पुनः आग्रह गर्दछौं । अन्यथा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार सेवा आयोग र विश्वविद्यालय प्रशासन हुने प्रति कडा चेतावनी दोहोर्याउन चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको