
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन् । हाल शाह भने भारतमै छन् ।
यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सा थियो । मेयर शाह बस्ने कुसीको ठिक पछाडी ग्रेटर नेपाल ठूलो नक्सा राखिएको हो ।
बंगलादेश र पाकिस्तानले प्रष्टीकरण मागे
भारतले आफ्नो भूमि समेटेर नयाँ संसद् भवनमा मुरल बनाएपछि बंगलादेश र पाकिस्तानले विरोध गरेका छन्। भारतले विवादित भित्तेचित्र हटाउनुपर्ने अथवा यसबारे थप स्पष्ट पार्नुपर्ने माग बंगलादेश र पाकिस्तानको छ। बंगलादेशले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको ढाका ट्रिब्यूनले जनाएको छ। बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भएको बताएका छन्।
भारतले नयाँ संसद् भवनमा राखेको मुरल
त्यस्तै, पाकिस्तानले भारतीय सत्तारुढले आफ्नो खपतका लागि विवाद उत्पन्न हुने अखण्ड भारतुको नक्सा प्रकाशन गरेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै विरोध जनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले नयाँ दिल्लीको नयाँ संसद् भवनमा भित्तिचित्र राखिएको प्रति खेद व्यक्त गरेकी छन्।
भारत बचाउमा
सुरुवातमा भारतका मन्त्रीहरुले नै अखण्ड भारत भन्दै प्रचारप्रसार गरेको भए पनि छिमेकी देशले चर्को विरोध गरेपछि भारत अहिले सो कार्यको बचाउमा छ । फेस सेभिङका लागि प्रागऐतिहासिक अशोका सम्राज्यले ओगटेको भूमिको चित्र भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दिम बगाचीले सम्राट अशोकको साम्राज्यको शासनको चित्रण गर्नका लागि उक्त मुरल बनाइएको बताए ।