काठमाडौं :सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्री हुन्छन् भनेर दिएकाे अभिव्यक्तिप्रति संसदीय मामिला पत्रकार समाजले आपत्ती जनाएको छ । समाजका महासचिव विष्णु खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिप्रति संसदीय मामिला पत्रकार समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘नेपाली सञ्चार जगत मुलुकको हरेक राजनीतिक परिर्वतनका लागि अग्रमोर्चामा रहेर देश र जनताको पक्षमा खरोरुपमा उभिदै आएको छ । हरेक परिर्वतनमा साथ दिँदै नेपालको गणतन्त्र स्थापनामा सञ्चारजगतले खेलको भूमिका अविस्मरणीय छ । तर जनताको सार्वभौम थलो, प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुसँग शुक्रबार दिनुभएको अभिब्यक्तिप्रति संसदीय मामिला पत्रकार समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय सभामुख जस्तो गरिमामय पदमा आसीन ब्यक्तिले सञ्चारजगत र सञ्चारकर्मीप्रति राख्नु भएको तल्लो स्तरको धारणाले हामी चिन्तित र दुःखित भएका छौं । साथै सञ्चारकर्मीमाथि लगाएको आरोपको पुष्टि गर्नसमेत चुनौती दिन चाहान्छौं । सभामुख पदमा आसीन भइरहँदा हिजोका कठिन र कालरात्रीको समयमा मिडियाले खेलेको भूमिका नभुल्नसमेत हामी आग्रह गर्न चाहान्छौं ।’
सभामुख घिमिरेले शुक्रबार पत्रकार महासंघकै पदाधिकारीसँग पत्रकारहरु बिक्रीमा छन् भन्ने अभिब्यक्ति दिएका थिए । त्यस लगत्तै विभिन्न संचार प्रतिष्ठान र संघसंगठनहरुका साथै पत्रकारहरुले व्यक्तिगतरुपमै यसको खण्डन र आलोचना गरिरहेका छन् ।
विज्ञप्ति –