
काठमाडौं । उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवकाे उमेदवारी कायम भएकाे छ । निर्वाचन अधिकृत महेश शर्मा पाैडेलले उमेदवारी विरुद्ध जाँचबुझपछि उमेदवारी कायम भएको जानकारी दिए ।
राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायकाे उमेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।
यादवले आफ्नाे उमेदवारी संविधानसम्मत भएकाे बताए । धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । यादवले संविधानमा ‘वा’ लेखिएको र आफू राष्ट्रपतिमा निर्वाचित भइसकेका रामचन्द्र पौडेलभन्दा फरक समुदायको भएकाले उम्मेदवारी संविधानसम्मत भएको दाबा गरेका छन् ।
उनलाई नेपाली कांग्रेस , माओवादी केन्द्र र एकीकत समाजवादीकाे समर्थन छ ।