–अर्जुन थपलिया
सर्वप्रथमतः धन्यवाद गोलबजार नगरपालिकाका मेयर श्री श्याम श्रेष्ठ ज्युलाई जसले गत दशैं अगाडि मलाई बोलाएर दुई थान विज्ञापन प्रदान गर्नुभयो । म यो सत्यलाई लुकाउनै चहान्न । तर समाचार लेख्ने वा नलेख्ने कुरा विज्ञापन दिने–नदिने कुरासँग सम्बन्धित छैन । विज्ञापन वापत कलम बन्धकी राखिदैन । विज्ञापनको अर्थ राजनीतिबारे समाजको अगाडि पत्रकारहरुले केही कुरा पस्किनै पर्ने भएकोले यो आलेखमार्फत केस्रा केलाउदै छु ।
मेरो हातमा दुईवटा दस्तावेज परेको छ । यो दस्तावेज गोलबजार नगरपालिकाले एम.आर. एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि. टोखा १ काठमाडौंलाई विज्ञापन दिएको र सो को भुक्तनी पठाएको निस्सा हो । यसै आलेखसँग संलग्न एम.आर. एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि. टोखा १ काठमाडौं सिरहाको कम्पनी होइन । न त सिरहाका कुनै पत्रकारले सञ्चालन गरेको कम्पनी हो । तर गोलबजार नगरपालिकाले उक्त कम्पनीलाई विज्ञापन र सो वापतको भुक्तानी पठाएको दस्तावेजले बताउँछ ।
दुई चार वटा साना विज्ञापन स्थानीयलाई दिए जस्तो गरेर अधिकांश विज्ञापन बाहिरका विज्ञापन एजेन्सीलाई दिनुको पछाडि कुन अर्थ राजनीतिले काम गरेको छ ? के मेयर श्याम श्रेष्ठ ज्युले स्थानीय पत्रकारलाई प्राथमिकतामा राख्नु भनेर दिनुभएको नीतिगत आदेशलाई प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले लगौटी लगाइ दिनु भएको हो ? कि त बाहिरी मिडिया कम्पनीलाई विज्ञापन दिंदा आउने कमिशनमा “काले काले मिलेर खाउँ भाले” शुत्रले काम गरेको छ ? या त एम.आर. एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि. टोखा १ काठमाडौंका सञ्चालक मिडिया कम्पनी मेयर साहवको कोही नातागोता वा आफन्त हुन् ? सिरहाका सञ्चार माध्यम र पत्रकारहरुले भन्दा काठमाडौंका मिडियाले सस्तोमा छाप्छ भने तर्क हो भने त्यसका लागि सार्वजनिक खरिद ऐन बमोजिम प्रतिस्पर्धा गराएर सिरहाली मिडियाहरुलाई पनि भाग लिने मौका दिनु पथ्र्यो । नत्र “पासमे सितम दुर पे रहम” किन ? कुन मोहिनीले विज्ञापन काठमाडौ पठाउँ– पठाउँ लाग्छ मेयर साहव ? थाहा भएन नभन्नु होला । त्यसो भन्दा तपाईँको निरीहता झल्किन्छ । हामीले भोट दिएर जिताएको मेयर निरीह भएको देख्दा हाम्रो मन दुख्छ ।
मेयर साहव हामी यति मात्र जान्न इच्छुक छौ किन सिरहाका मिडियाले विज्ञापन नपाउने ? किन काठमाडौंका मिडियाले गोलबजार नगरपालिकाबाट सृजना भएको विज्ञापनमा ढलिमली गर्ने ? गोलबजार वा सिरहाका रैथाने सञ्चारमाध्यमहरु मेयर श्याम श्रेष्ठ ज्युले बोलाएको पत्रकार सम्मेलनमा वा अन्य कुनै कार्यक्रममा उपस्थित हुन्छन् । सिरहाका आर्थिक,सामाजिक,राजनैतिक र साँस्कृतिक सवालहरुसँग सम्बन्धित विषयवस्तुमा कलम चलाउँछन् । आफूलाई परेको बेला चाहिएको बेला तपाईँले पनि ‘पत्रकार बन्धुहरु र पत्रकार मित्रहरु’ भनेर सम्बोधन गर्न र लेखिदिन आग्रह गर्नुहुन्छ ? आठौं नगरपरिषद्मा पनि मेयर श्याम श्रेष्ठ भन्दै हुनुहुन्थ्यो – पत्रकार बन्धुहरु ७ करोडको वेरुजु छ , लेखिदिनुस् । त्यतिबेला काठमाडौंका मिडिया आउँदैनन् । स्थानीय पत्रकारहरु नै चाहिन्छ । प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल पनि एक दिन सरुवा भएर जानुहुन्छ । तर स्थानीय पत्रकारहरु गोलबजार नगरपालिकाका लागि सधै सधै काम लाग्ने पेशागत व्यक्तित्वहरु हुन् । अनि आर्थिक अभावका कारण अस्तित्व रक्षाका लागि स्थानीय मिडियाहरु संघर्षरत रहेको कुरा कसैसँग लुकेको छैन । रैथाने मिडिया र तिनका सञ्चालक सञ्चारकर्मीहरुले गोलबजार नगरपालिकाको विज्ञापन माथि दावी गरे वा माग गरे भने के अपराध गरे त ? हामी गोलबजार नगरवासी, नेकपा एमाले पंक्तिलाई सोध्न चहान्छौं । के स्थानीय पत्रकारहरुले स्थानीय पालिकामा भएको विज्ञापन माग गर्नु अपराध र अनैतिक हो ? दयाको भिक्षा माग्नु हो ? के संघीयता र स्थानीय स्वायत्त शासन प्रणालीको अवधारणा सहित आएको स्थानीय सरकारको काम कर्तव्य रैथाने अर्थतन्त्रलाई उकास्ने होइन ? विज्ञापन नदिदा विरोधमा समाचार लेख्यो भन्ने भ्रम नछर्नुस् मेयर साहव । म यही आलेखमार्फत घोषणा गर्दछु – अब उप्रान्त तपाईँको कार्यकाल रहुञ्जेलसम्म म एउटा पनि विज्ञापन माग्ने वा छाप्ने छैन । सुरुमा दिनु भएको दुई वटा विज्ञापनका लागि मुरी मुरी धन्यवाद छ तपाईलाई । तर मेरो आग्रह र आन्दोलन के हो भने सिरहाका १७ वटा पालिकाबाट उत्पति भएको विज्ञापनमाथि सिरहाका स्थानीय पत्रकारहरुको पहिलो हक लाग्नु पर्छ । विज्ञापन माग्नु पत्रकारको अधिकार हो । विज्ञापन माग्नु दयाको पात्र हुनु होइन । निश्चय पनि संघीयता आएको यसैका लागि हो । रैथाने श्रोतमा रैथानेको अधिकार पहिलो लाग्छ । सिरहाका केही पालिकाहरुमा यो कुरा केही हदसम्म लागू पनि भएको छ । मेयर साहब, अर्जुन थपलियालाई विज्ञापन पूर्ण रुपमा रोक्नुस् । म विस्मात मान्दिन । तर जसलाई दिए पनि सिरहाका पत्रकारलाई दिनुस् । पालो लगाएर दिनुस् । मैले दुई थान विज्ञापन लिँदा पनि भनेकै थिए चक्रिय प्रणाली लगाइ दिनुस् र सिरहाका खासगरी गोलबजारका सबै मिडियालाई बाँडेर दिनुस् । कि त भन्नुस् हामीले चाहेको लोकतन्त्रमा मिडियाको काम छैन । सिरहाका सबै मिडिया बन्द होस् ।
सिरहा जिल्लामा १७ वटा पालिकाहरु छन् । लगभग सबै पालिकाहरुमा सरदर ३० देखि ७५ लाखसम्मको वार्षिक विज्ञापन खर्च हुने गरेको छ । त्यो विज्ञापनको समग्र हिसाव गर्दा सिरहा जिल्लामा मात्र वार्षिक ७÷८ करोडसम्मको विज्ञापन सृजना हुन्छ । उपरोक्त विज्ञापन प्रमुख प्रशासकीय अधिकृतहरुले खुद आफै काठमाडौंको मिडियामार्फत छपाए भने ४० देखि ५० प्रतिशत कमिशन पाउँछन् । यो कमिशनको रकम प्रमुख प्रशासकीय अधिकृतहरुको वार्षिक तलवभन्दा दोब्बर तेब्बर बढी हुन्छ । त्यो कमिशनको रकम पालिकाको अदृश्य र अवैध बास्केटमा जम्मा हुन्छ । आर्थिक वर्षको अन्त्यमा भागशान्ति लगाइन्छ । स्मरण रहोस् सिरहामा एक दुई जना प्रमुख प्रशासकीय अधिकृत छन् जसले सबै रैथाने पत्रकारलाई पालो लगाएर विज्ञापन दिन्छन् र कमिशन पनि लिदैनन् । तर गोलबजार त्यसमा पर्न सकेन । त्यसकारण स्थानीय तह र रैथाने मिडियामा सधै द्वन्द्व हुन्छ ।
म एक दिन लहान नगरपालिकामा गएँ । त्यसबेला त्यहाँ खेमनन्द भुषाल प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । मैले उहाँलाई विज्ञापन दिने फेहरिस्तमा मेरो नाम पनि संलग्न गर्न आग्रह गरें । उहाँले मलाई सिधै भन्नुभयो अरु कुरा गर्नुस् तर विज्ञापनको कुरा नगर्नुस् किनकी मेरो आफ्नै विज्ञापन एजेन्सी छ । मैले त्यहीबाट थाहा पाएँ केही पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको आफ्नै विज्ञापन एजेन्सी छ । आफन्तहरुका नाममा विज्ञापन एजेन्सी खोलेका छन् वा राष्ट्रियस्तरका मिडियाहरुसँग सिधा सम्पर्क छ । उनीहरुले फाट्टफुट्ट स्थानीय पत्रकारहरुलाई एक–दुई विज्ञापन दिएर मुख्य मुख्य ( धेरै रकम आउने ) विज्ञापन आफ्नै मातहतका विज्ञापन एजेन्सी वा आफैलाई कमिशन दिने राष्ट्रिय स्तरका पत्र पत्रिकामा पठाउँछन् ।
यति कुरा थाहा पाए पछि मैले तत्कालीन मेयर मुनि साहलाई यसबारे भने तर उहाँले त मलाई झन् उल्टै हप्काउनु भयो । त्यसपछि मैले यो कुरा माननीय लीलानाथ श्रेष्ठसँग भने । सिरहाका स्थानीय सञ्चारमाध्यमहरुलाई विज्ञापन नदिएर प्रमुख प्रशासकीय अधिकृतहरुले सिरहा बाहिरका विज्ञापन एजेन्सीलाई दिने र कमिशन लिने कार्य सर्वथा भ्रष्टाचार हो । यसलाई हटाउन सहयोग गर्न आग्रह गरें । माननीय श्रेष्ठले आफूले नितिगत रुपमा र कडाइका साथ पालन गर्नु पर्ने परम्पराका रुपमा रैथाने सञ्चारमाध्यमहरुको अधिकार स्थापित गर्न सहयोग गर्ने वचन दिनुभयो । उहाँले एमलेले जितेको पालिकामा रैथाने पत्रकारहरुलाई विज्ञापन दिने नीति कडाइका साथ लागू छ भनेर आस्वासन पनि दिनुभयो । मैले यो सवालको उठान प्रेस काउन्सिल , विज्ञापन वोर्ड र पत्रकार महासंघमा पनि गरें । मेरो लडाई गोलबजार नगरपालिकामा मात्र होइन सबै पालिकामा हो । यो अधिकारको लडाई हो । दयाको भिख मागेको होइन ।
लगभग १५० जनाको हाराहारीमा पत्रकारहरु छन् । कसैको क्षमता बढी होला कसैको कम तर धेरथोर सञ्चारकर्मीको भूमिका सबैले निर्वाह गर्दैछन् । शैली र सीप आ आफ्नो छ । तर एउटा कुरा सबैमा उस्तै छ त्यो हो “आर्थिक अभाव ” । राज्यले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई बजेट छुट्याउँछ तर चौथो अंग भनिएको पत्रकारिताका लागि बजेट दिंदैन । विज्ञापन उठाएर चलाउ भन्छ । सिरहामा निजी उद्योगहरुको संख्या पनि धेरै छैन । निजी क्षेत्रको विज्ञापन छैन भन्दा पनि हुन्छ । स्थानीय मिडिया बाँच्ने हो स्थानीय तहको विज्ञापनबाट । यसलाई हाम्रो मजबुरी भन्नुस् वा दिव्यता । स्थानीय तहको कर्तव्य सम्झनुस् वा ठालू पल्टिने अवसर ।
मेयर साहव तपाईको पुख्र्यौली सम्पत्ति ४ पुस्तालाई पुग्ने छ भन्ने कुरा स्वयं आफ्नै मुखारवृन्दबाट सार्वजनिक सभामै घोषणा गर्नुभयो तर पत्रकारहरुको अवस्था त्यस्तो छैन । पत्रकार गरिब रहनुमा पत्रकार दोषी होइनन् । यसका लागि राज्यको नीति र सामाजिक संरचना दोषी छ । सर्वहारा वर्गको राजनीति गर्ने मेयर साहवलाई यति त ज्ञात होला । मेयर साहव मैले खाइसके–सबै अघाए नभन्नुस् । तपाईँ जस्ता माक्र्सवादका ज्ञाताले त्यसो भन्न सुहाउँदैन । यो संघीय गणतान्त्रिक लोकतन्त्र मेरा लागि हो रैथाने पत्रकारहरु भर्सेला पर भन्न मिल्छ र ?