–अर्जुन थपलिया
नाम केसवर सदा,वतन साविक चन्द्रलालपुर ६ चोहर्वा हाल गोलबजार नगरपालिका वडा नं. ४ । टल्ला र कोदालो बोकेको उनको तस्बीर मैलै २०६३ सालमा खिचेको थिएँ । त्यतिबेला जनआन्दोलन ३ ले भरखरै ज्ञानेन्द्रको ‘कू ’ लाई परास्त गरेर गणतन्त्रात्मक शासन व्यवस्था कोरल्ने जमर्को गर्दै थियो । टल्ला कोदालो बोकेर कामको खोजीमा हिँडेका सर्वहारा दलित केसवरसँग चोहर्वा बजार नजिकै मेरो जम्काभेंट भएको थियो । मैले त्यतिबेला खिचेको यो तस्बीर कान्तिपुर पत्रिकामा प्रकाशन भएको थियो । उनले त्यतिबेला मसँग भनेका थिए “जमिन खनजोत गर्दा–गर्दा लाल भयो तर लालपूर्जा पाइएन” ।
यसै माघ महिनाको सुरुमा गोलबजार नगरपालिकाको आठौं नगरपरिषद् अतिथि सदन गोलबजारमा चलिरहँदा उही केसवर सदा गोलबजारमा भिक्षा माग्दै गरेको देखें । मैले पुनः तस्बीर लिएँ । शैली मिलाएर , बान्की गढेर रणभुल्लमा पार्ने तथा बुझ्नै गाह्रो कम्युनिष्ट नेताहरुको भाषण जस्तो नभए पनि सरल भाषामा नेपालमा भएका पटक पटकको राजनीतिक परिवर्तनहरुले केसवर जस्ताको जीवन उकास्न ध्यान नदिएको भन्दै उनले गहिरो सुस्केरा हाले । उनले भने बल वैंश छँदासम्म मागेर खाइन । कठोर श्रम गरें । तर अब हात पाउँ बस्यो । काम गर्न सक्दिन । प्राण धान्न माग्नु बाहेक विकल्प छैन । उनले मलाई व्यङ्ग गर्दै भने ‘ कता छ तपाईहरुको गणतन्त्र ?’
आठौं नगरसभामा म बोलाइएको थिइन । नबोलाइएकोमा मेरो कुनै गुनासो पनि छैन । भोलिपल्ट मैले फेसवुकमा मेयर श्याम श्रेष्ठको भाषणको एउटा चिरकटो जति भाग सुने । उहाँको अभिव्यक्ति छ ( फटेजमा जसले पनि सुन्न सक्नुहुन्छ ) ए भाइ म पैसा खान आएको होइन । चार पुस्तालाई पुग्ने सम्पत्ति मेरो बाउले मलाई कमाएर राखिदिएका छन् । म दुई पटक गाविस अध्यक्ष भएँ । एक पटक मेयर भएँ । म त साँसद र मन्त्री हुन काम गर्दैछु ।
अर्को दिन म केसवर सदाको घर हेर्न गएँ । उनी घरमा थिएनन् । वरपर छरछिमेकलाई सोधे –खोइ केसवर ? छिमेकीले भने भरे रातिको लागि चिपी ( भिक्षा मागेर ल्याइने अन्न ) माग्न गएका छन् । मैले उनको घरको तस्बीर खिंचेर फर्किए । तस्बीर खिच्दा उनको घरमा केही अपुग छ जस्तो लाग्यो । एउटा हसिंया हथौडा अंकित कम्युनिष्ट पार्टीको झण्डा उनको घरमा फह¥याइ रहेको थिएन । तर उनलाई नसोधी लगाइ दिनु पनि भएन ।
म २०३६ सालतिर १० वर्षको हुँदा गीत गाउने गर्थे –‘जोत्नेको यो भूमि हो । ’ यसरी सर्वहारा वर्गको मुक्तिको गीत गाउँदै कम्युनिष्ट पार्टीमा लागेको म अहिले गाणतान्त्रि लोकतन्त्र भनिएको शासन व्यवस्थामा सास फेर्दै छु । म अहिले गमेर ल्याउँछु , सोच्छु – कता गयो सर्वहारा वर्गको मुक्ति र केसवर सदाहरुको अधिनायक्त्व । कता हरायो सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति ? कहाँ गएर खोज्नु नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य प्रणाली । के केसवर जस्ताको हितमा मेयर देवनाथ साह र श्याम श्रेष्ठले मुक्तिमार्ग खन्लान् ? केसवर त एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्ता हजारौं छन् । खोइ नगर प्रमुखहरुको थोरै पनि संवेदनशीलता ?
मेयर श्याम श्रेष्ठ ज्यु को भाषण सुन्दा एउटा मैथिली उखान याद आयो । ‘बेटा काविल नै होइछै टका काविल होइछै ’ । अर्थात छोरा बाठो हुँदैन पैसा बाँठो हुन्छ । उहाँ स्वयंले यो कुरा भाषणमा घुमाउरो शैलीमा स्वीकार गर्नुभएको छ । उहाँको भनाइको मर्म हो – मसँग पूँजी प्रसस्त छ । म तीन पटक चुनाव लडेर सार्वजनिक ओहदामा पुगे । अझै साँसद र मन्त्री हुन बाँकी नै छ । उहाँ भित्र एक दिन साँसद र मन्त्री बन्छु भन्ने आत्मविश्वास पनि छ । बेटा काविल नै टका काविल उखान समाजमा प्रचलित मात्र छैन चुनावी लोकतान्त्रिक अभ्यासमा शतप्रतिशत सत्य सावित पनि हुन्छ । तसर्थ मेयर साहवको परिकल्पना साकार हुनेछ भन्नेमा शंका गर्ने ठाउँ छैन ।
तर विकास भनेको परिवर्तन र वृद्धिको गतिशील प्रकृया हो । विकासले सहभागीहरुको जीवनस्तर उकास्नु पर्छ । विकास बाँड्नेहरुको जीवन फेरियो विकास थाप्नेहरुको जीवन झन् रसातलमा पुग्यो । त्यसकारण लोकतान्त्रिक गणतन्त्र प्रति समाजमा वितृष्ण बढ्दो छ । त्यसको जीवित साक्षी केसवर सदा हुन् । गणतन्त्र आउनु पूर्व पाखुरी चलाएर टल्ला कोदालो चलाएर जीवनयापन गरिरहेका केसवर बल र वैंश ढले पछि भिक्षा मागेर खाने अवस्थामा पुगे । यस बीचमा स्थानीय सरकारको एक कार्यकाल बित्यो । अर्का मेयर साहबको पनि एक वर्ष व्यथित हुँदैछ । मेयर श्याम श्रेष्ठ ज्यु – साँसद र मन्त्री बन्नुहोस् शुभकामना छ तर केसवरहरुको जीवन कसरी र कहिले उकासिन्छ ? यो जिम्मेवारी कसको हो ? गोलबजार नगरपालिकाले गरिब दलित महिला र बालबालिकाहरुको जीवन रुपान्तरण गर्न कति वजेट छुट्याइएको छ ? नगरपालिकाको कुन कार्यक्रमले केसवर जस्ताहरुको जीवन फेर्ने उद्देश्य बोकेको छ ? सडकमा ग्राभेल ओछ्याएर , मेयर श्याम कुमार श्रेष्ठको घर वरिपरी पहिलो बजेट खर्च गरेर चिरिच्याँट्ट कालोपत्रे गरेर केसवर जस्ताको जीवनमा के रुपान्तरण आउला ? मेयर देवनाथ साहको घर अगाडि पार्क बनाएर पनि केसवरहरुको जीवन फेरिएन ।
कम्युनिष्ट पार्टीका हर्ताकर्ता जनताका मतले चुनिनु भएका महान मेयर देवनाथ साह र श्याम श्रेष्ठ ज्यु ? समाजको वर्गीय स्वरुप र सर्वहारा वर्गको वर्गीय हित र स्वार्थको रक्षा सम्बन्धी सामान्य राजनीतिक चेत त पक्कै होला तपाईहरुमा ? माक्र्सवाद जो कण्ठ गर्नुभएको छ । जनताको बहुदलीय जनवाद र प्रचण्डपथ जस्ता दस्तावेज पढ्नु भएकै होला । आफै भन्नुहोस् –तपाईहरु साच्चै सर्वहारा हुनुहुन्छ कि कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिज्म सिद्धान्तका झडकेलो सर्वहारा ? राज्य र समाजको शोषणमुखि सामाजिक , आर्थिक तथा राजनीतिक संरचनाबारे खोइ गम्भीर बोध ? जातीय छुवाछुतको कलंकित प्रथााले गाँजेको समाजमा पिल्सिएका दलितहरु प्रति खोइ थोरै पनि संवेदनशीलता र उत्तरदायित्व बोध ? पूर्व मेयर देवनाथ साहको त मौका गयो । मौका मेयर श्याम श्रेष्ठको हातमा छ । मेरो हातमा पर्याप्त पूँजी छ , म चुनाव जिततिहाल्छु भन्ने विरुप घमण्डभन्दा जनताको बहुदलीय जनवादको मर्मलाई समाएर नेपालको संविधान २०७२ को समाजवाद उन्मुख राज्य प्रणालीलाई साकार बनाउने कार्यक्रम ल्याएर लोकप्रीय बन्छु भनेको भए उत्तम हुनेथियो । मन्त्री साँसद बन्नु भन्दा पनि जनताको सेवा गर्न आएको भन्ने वाक्यांश प्रीतिकर लाग्नेथियो ।
विकासको प्राथमिकतामा कसलाई राख्ने र के राख्ने ? पूर्व नगर प्रमुख देवनाथ साह र नगर प्रमुख श्याम श्रेष्ठको घर अगाडि सजिसजाउ झकिझकाउ कालोपत्रे सडक कि केसवर सदाको मध्ययुगिन मानवले प्रयोग गर्ने ओडार जस्तो घर ?
केसवर सदाहरुको घरले तपाईहरुको साँसद मन्त्री बन्ने सपना पूरा गरे पनि लोकतन्त्रको नाममा एक भद्दा उदाहरण मात्र कायम हुने छ । अबका कम्युनिष्ट युवाहरुको चेत फर्किदै गएको छ । माक्र्सवादका झडकेलो , आडम्वरी र पाखण्डी सर्वहारा होइन अपितु पढेलेखेका,सिद्धान्त र व्यवहारमा एकरुपता देखाउने ,सुशासन कायम गर्न सक्ने नयाँ जोश र जाँगर भएका युवाहरुलाई चुनावमा रोज्ने छन् । अब समाजमा सामाजिक विकासका दुरदृष्टि भएका सो अनुसारको ध्येय लिएर हिँड्ने , लक्ष्य साध्न सक्ने र उद्देश्यहरु परिपूर्ति गर्ने गरी कार्यक्रम ल्याउन सक्ने युवाहरुको खाँचो छ । अबको अभियान दरवार बाहिरको राजनीति । दलित , गरिब, महिला र बालबालिका जस्ता कमजोर वर्ग प्रति पराङमुख दरवारहरु थान्को लाग्नै पर्छ ।