काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बुधबार सुनुवाई भएको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा भएको सुनवाईपछि सर्वोच्चले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न मंसिर १४ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्चको आदेशमा रिट निवेदनसहितको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेल र डा। भिमार्जुन आचार्य तथा अधिवक्ता हरिप्रसाद मैनालीले बहस गरेका थिए । विपक्षीहरूलाई आदेश र रिट निवेदनको प्रतिलिपिसहित सूचना म्याद जारी गरी जवाफ पेस गर्न भनिएको छ ।
रिट निवेदन नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे तथा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय ज्ञानेश्वरप्रसाद सिंह महतोले दर्ता गराएका थिए । महतो यसअघिको छनोट प्रक्रियामा शीर्ष तीनमा परेका व्यक्ति हुन् । रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ । आजको सुनुवाईमा निवेदकका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले बोर्डको सीईओ छनोट प्रक्रिया नेपाल पर्यटन बोर्ड ऐन-२०५३, कर्मचारी सेवा विनियमावली तथा छनोट कार्यविधिविपरीत रहेको जिकिर गरेका थिए । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ (१) ले कार्यकारी प्रमुखका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । तर, उक्त कानुनी मापदण्डअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता र कार्यअनुभवको पर्याप्त परीक्षण नगरी १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको निवेदकहरूको दाबी थियो । बोर्डले कार्यकारी प्रमुख छनोटका लागि २०८३ भदौ २६ गते दरखास्त आह्वान गरेको थियो । त्यसपछि छनोट उपसमितिले कात्तिक २० गते १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।
रिटमा अनुभव गणना गर्दा स्नातकोत्तर उपाधि हासिल गरेपछिको अनुभवलाई आधार मान्नुपर्ने र पर्यटन क्षेत्रसँग सम्बन्धित संगठित वा कानुनद्वारा मान्यता प्राप्त संस्थामा अधिकृतस्तरको पदमा काम गरेको अनुभव हुनुपर्ने तर्क गरिएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ का प्रावधानसमेत पालना हुनुपर्ने निवेदकहरूको जिकिर थियो । संक्षिप्त सूचीमा समावेश केही उम्मेदवारको स्नातकोत्तरपछिको अनुभव १० वर्ष नपुगेको र केहीको अनुभव कानुनले तोकेको प्रकृतिको संस्थामा अधिकृतस्तरमा काम गरेको अनुभवअन्तर्गत नपर्ने दाबी रिटमा गरिएको छ । निजी कम्पनीको एकल स्वामित्वमा सञ्चालित व्यवसायको अनुभवलाई समेत कानुनले तोकेको संस्थागत अनुभवसरह मान्यता दिन नमिल्ने तर्क आजका बहसकर्ताहरुले गरेका थिए । त्यस्तै, दरखास्त स्वीकृत तथा अस्वीकृत भएका उम्मेदवारको विवरण सार्वजनिक नगरिएको र अयोग्य ठहरिएका उम्मेदवारलाई त्यसको कारणबारे जानकारी नदिइएको भन्दै छनोट प्रक्रियाको पारदर्शितामाथि पनि प्रश्न उठाइएको छ । योग्यता र अनुभवको वस्तुनिष्ठ परीक्षण नगरी उम्मेदवारलाई प्रतिस्पर्धामा समावेश गर्दा योग्य उम्मेदवार अन्यायमा पर्ने निवेदकतर्फका बहसकर्ताहरुले जिकिर गरेका थिए ।

