काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक मनाेज केसीप्रति आक्रोश व्यक्त गरेका छन् । आईजीपीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । बुधबार राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै राजनीतिक नेतृत्वलाई मजाकको पात्र नबनाउन चेतावनी दिए ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु अरे !’ उनले भने ।
आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै ओलीले ६ महिनाको जागिर खाने प्रहरी अधिकारीले राजनीतिक नेतृत्वलाई थुन्ने धम्की दिनु सामान्य विषय नभएको टिप्पणी गरे । ‘तिनी जन्मिनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिरहेका थियौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छ नि त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु ? हामी मजाकका पात्र हौँ ?’ उनले प्रश्न गरे । ओलीले गलत काम गरेको प्रमाण भेटिए आईजीपी स्वयं पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने बताए । गृहमन्त्रीले फाइल खोल्ने र सबैलाई थुन्ने भन्दै हिँडेको प्रसंग उल्लेख गर्दै उनले कसलाई लक्षित गरेर यस्ता अभिव्यक्ति दिइएको हो भन्ने प्रश्न गरे ।
‘उनी पनि थुनिन्छन् होला नि गलत काम गरेको प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि ! गृहमन्त्री फाइल खोल्दैछु, पर्खनु, सब थुनिन्छन् । एक से एक थुनिन्छन् भन्दै हिँड्छन् । कसलाई भनेको हो ?’ ओलीले भने । उनले यस्ता अभिव्यक्तिबाट आतंकको राज र मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजिएको आरोप लगाए । तर, यस्ता धम्कीबाट एमाले नडराउने उनको भनाइ थियो । ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । जनताको कृपाले सरकारको नेतृत्व गरेका हौँ,’ उनले भने । सरकारले प्रतिशोध साँधेर आफूहरूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने आशंका पनि ओलीले व्यक्त गरे । यसअघि आफ्नो गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्तामाथि सरकारले दमन गरेको उनको आरोप थियो ।
आफ्नो गिरफ्तारीको विरोधमा प्रदर्शनमा उत्रिएका सयौँ कार्यकर्ता अझै घाइते अवस्थामा रहेको र कतिपय ह्विलचियर तथा वैशाखीको सहारामा हिँड्न बाध्य भएको उनले बताए । उनीहरूमाथि किन बल प्रयोग गरियो भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने ओलीको माग छ । ‘मेरो गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई सरकारले वैरभावपूर्ण ढंगले हेर्यो । सयौँ कार्यकर्ताको शरीरभरि नीलडाम छ । अहिलेसम्म कति जना ह्विलचियरमा छन्, कति जना वैशाखी टेकेर हिँडेका छन् । त्यसको जवाफ दिनुपर्छ कि पर्दैन ? किन प्रहार गरेको थियो रु’ उनले भने ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी कार्यकर्तालाई सडकबाट मात्र नभई घर र पसलभित्र लुकेका अवस्थामा समेत तानेर ल्याई कुटपिट गरिएको ओलीको आरोप छ । आगामी दिनमा पनि एमाले कार्यकर्तामाथि त्यस्तै व्यवहार दोहोर्याइए त्यसको परिणाम महँगो पर्ने उनले चेतावनी दिए । ‘अब त्यस ढङ्गले निर्मम प्रहार गरिन्छ भने नेकपा एमाले चुप लागेर बस्ने छैन । केही हजारका दरले निस्कियो होला त्यतिबेला, अब लाखका दरले हरेक ठाउँमा निस्किनेछ । एमाले एउटा मजबुत, बलियो संगठन भएको शक्ति हो,’ उनले भने । सरकारको दमन र प्रतिशोधपूर्ण व्यवहारविरुद्ध एमाले चुप लागेर नबस्ने बताउँदै ओलीले पार्टीको शक्ति प्रदर्शन गर्ने चेतावनीसमेत दिए । उनले एमाले मूल गेटबाटै सिंहदरबार प्रवेश गरेर देश निर्माणको नेतृत्व गर्ने दाबी गरे ।

