काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ। कार्कीले कात्तिक २० गते दायर गरेको रिटमाथि सोमबार सुनुवाइका लागि पेसी तोकिएको थियो। तर छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएपछि सुनुवाइ हुन सकेन। तिहार र छठ पर्वको बिदापछि सरकारी कार्यालय सञ्चालनमा आएसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि नयाँ पेसी तोकेको हो।

यसअघि कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले कार्कीको स्थानमा मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

तर सरकारले गरेको निर्णय अस्वीकार गर्दै कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति नलिई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई पुनः प्रहरी महानिरीक्षककै जिम्मेवारीमा फर्काउन माग गरेका छन्। सरकारको निर्णय संविधान, प्रचलित कानुन र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत रहेको कार्कीको दाबी छ। कुनै कानुनी आधार र निर्धारित कार्यविधि पूरा नगरी, स्पष्टीकरण सोध्ने वा आफ्नो कुरा राख्ने अवसरसमेत नदिई आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको रिटमा उल्लेख छ।

आफूलाई कमान्ड र जिम्मेवारीबाट अलग गर्ने सरकारको निर्णय गैरकानुनी रहेको जिकिर गर्दै कार्कीले उक्त निर्णय बदर गरी आईजीपी पदमा पुनर्बहाली गर्न अदालतसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको