काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नवलपुरस्थित कांग्रेस जिल्ला पार्टी कार्यालय परिसरमा रहेको संस्थापक नेता एवं जननायक बीपी कोइरालाको सालिक तोडफोड गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अज्ञात समूहबाट भएको सालिक तोडफोडको घटनालाई निन्दनीय भन्दै घोर भर्त्सना गरेका हुन् ।

बीपीको सालिकमाथिको आक्रमण एउटा सालिक तोडफोडमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास, आदर्श, मूल्य र मान्यतामाथिको प्रहारका रूपमा व्याख्या गरेका छन् । ‘बीपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई कमजोर बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक संस्कार र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन् ।

उनले उक्त घटनाले देशमा लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावको अवस्था कतातर्फ उन्मुख भइरहेको छ भन्ने गम्भीर प्रश्नसमेत खडा गरेको बताएका छन् । घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषीलाई तत्काल पहिचान गरेर कानुनी दायरामा ल्याउन उनले नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेका छन् ।

लोकतान्त्रिक आन्दोलनका आदर्श र इतिहासमाथिको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको