काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।  श्रेष्ठलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित पाँगाबाट पक्राउ गरेको हो ।  पक्राउको कारण भने खुलाइएकाे छैन ।

प्रहरी स्रोतका अनुसार विवादित बिचौलिया इनम सापकोटासँगको सम्पर्क र आर्थिक कारोबारको सम्बन्ध देखिएपछि महेशलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार महेश र सापकोटाबीच बैंकिङ कारोबार भएको विवरणसमेत अनुसन्धानका क्रममा फेला परेको छ । कारोबार देखिएपनि उक्त कारोबार अहिले चर्चामा रहेको कांग्रेसको सन्दर्भसँग जोडिन्छ वा अरु नै उद्धेश्य थियो थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरी स्रोतले बतायो ।

महेश पक्राउ परेको घटनालाई कांग्रेसको आधिकारिकता विवादमा उमेश श्रेष्ठमाथि लाग्दै आएका आरोपको पृष्ठभूमिमा अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसको आधिकारिकता विवाद अदालतसम्म पुगेका बेला इनम सापकोटासँगको सम्बन्ध र न्यायाधीशहरूसँगको भेटघाटमा उमेशको भूमिका रहेको आरोप इतरपक्षले लगाइरहेकाे छ । कांग्रेसको इतरपक्षका नेता कान्छाराम तामाङले पनि उमेश श्रेष्ठ इनमसँग मिलेर कांग्रेसको आधिकारिकतासम्बन्धी अदालती प्रक्रियामा चलखेलमा संलग्न भएको आरोप लगाउँदै आएका छन् । तामाङले होटल हिमालयमा न्यायाधीशसँग भेटघाट हुँदा त्यसको बिलसमेत उमेशले तिरेको दाबी गरेका छन् ।

यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन । यसैबीच, इनम सापकोटाको नाम जोडिएको सार्वजनिक अडियोले कांग्रेसको आधिकारिकता विवादलाई थप पेचिलो बनाएको छ । उक्त अडियोमा कांग्रेसको आधिकारिकता खरिद गर्न १८ करोड रुपैयाँको चलखेल भएको दाबी गरिएको छ । अडियोमा गरिएको दाबी र त्यसमा जोडिएका व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान तथा छानबिनको मागसमेत उठिरहेको छ ।

कांग्रेसको आधिकारिकता विवादमा अदालतको निर्णय प्रभावित पार्न बिचौलियामार्फत आर्थिक चलखेल भएको हो वा होइन भन्ने प्रश्न उठिरहेका बेला महेशको पक्राउले यस प्रकरणलाई थप चर्चामा ल्याएको छ । प्रहरीले भने महेश पक्राउको औपचारिक कारण र उनीमाथि लागेको आरोपबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको