काठमाडौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घरबारसँगै अभिभावकसमेत गुमाएका बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै मन्टेश्वरी एसोसिएसन नेपालले मानवीय सहयोग अभियान सञ्चालन गरेको छ ।

बाढीका कारण प्रभावित भई विभिन्न पाँच वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकासँग प्रत्यक्ष भेटघाट गर्दै एसोसिएसनले उनीहरूको मनोबल उच्च राख्ने प्रयास गरेको हो । विपद्का कारण मानसिक रूपमा प्रभावित बालबालिकालाई केही समय भए पनि पीडा र त्रास भुलाउँदै खुसी, आत्मीयता र सुरक्षित अनुभूति दिलाउने उद्देश्यले एसोसिएसनले उनीहरूसँग रमाइलो कुराकानी, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरेको जनाएको छ ।

बाढीले बस्ने घर मात्र होइन, कतिपय बालबालिकाको परिवार र अभिभावकसमेत खोसेपछि उनीहरू मानसिक रूपमा समेत प्रभावित भएका छन । यस्तो अवस्थामा बालबालिकालाई राहत सामग्रीसँगै भावनात्मक साथ र आत्मीयताको पनि आवश्यकता हुने भन्दै एसोसिएसनले सहयोग अभियान अघि बढाएको हो ।


कार्यक्रमका क्रममा बालबालिकालाई लत्ताकपडा, जुत्ता–चप्पल, विद्यालय जाने झोला, कापी–कलम, चित्र बनाउने सामग्री, खेलकुदका सामग्रीलगायत दैनिक जीवन तथा अध्ययनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको थियो । एसोसिएसनको अभियान सहयोग सामग्री वितरणमा मात्र सीमित रहेन । पदाधिकारी तथा सदस्यहरूले बालबालिकासँग प्रत्यक्ष समय बिताउँदै उनीहरूसँग खेले, हाँसे र रमाए । उनीहरूको मनका कुरा सुन्ने तथा आत्मीय संवाद गर्ने प्रयाससमेत गरिएको थियो ।

विपद्पछि बालबालिकामा देखिन सक्ने डर, त्रास र मानसिक असरलाई सामान्य अवस्थामा फर्काउन लामो समय लाग्न सक्ने भन्दै एसोसिएसनले स्थानीय सरकारको पहल र समन्वयमा आगामी दिनमा विभिन्न बाल मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्नसमेत तयार रहेको जनाएको छ । एसोसिएसनकी शुष्मा लामाले बालबालिकालाई काउन्सिलिङको आवश्यकता देखिए त्यसका लागि पनि मन्टेश्वरी एसोसिएसनले आवश्यक सहयोग गर्ने बताइन । उनका अनुसार विपद्मा परेका बालबालिकालाई तत्कालीन राहतसँगै उनीहरूको मानसिक अवस्था र भविष्यलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ ।

बाढीले उनीहरूको बाल्यकालमा गहिरो चोट पुर्याए पनि त्यसबाट बाहिर निकाल्न समाजको सानो साथसमेत महत्वपूर्ण हुने भन्दै एसोसिएसनले सहयोग र आत्मीयताको अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको