रविन्द्र मिश्र/ आज संसारकै सबैभन्दा सफलमध्येको “विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)” को वर्षगाँठ:- त्यस्तो विद्रोह जुन नेपालको इतिहासमा सबैभन्दा दुखद र पीडादायी हुन गयो।- त्यस्तो विद्रोह जसमा सहभागीहरूलाई विद्रोहको नेतृत्व कसले गर्दैछ र विद्रोह कता जाँदैछ भन्ने थाह थिएन।- त्यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen G) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको “जासुसी विद्रोह” सम्पन गरे।
– त्यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। (संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन।)
– त्यस्तो विद्रोह जसबारे तयार पारिएका प्रतिवेदनहरू कार्यान्वयन गर्न राज्य चाहाँदैन।
संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल “विदेशी-जासुसी विद्रोह” को संज्ञा दिने निर्णय गरेको छु।
त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो थाहा छैन।
तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे Hollywood को कुनै विश्वविख्यात निर्देशकले “जासुसी सिनेमा” निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु।
यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका covert operation हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले “हामीले गरेको” भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो।
नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नै पर्छ।
नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल #नवीनसमझदारी मा जानै पर्छ। नत्र नेपालमा भविष्यमा भदौ २३ र २४ को भन्दा धेरै गम्भिर संकट आउने छ र त्यतिबेला नेपाललाई आन्तरिक शक्तिहरूले सम्हाल्न सक्ने छैनन्।
भदौ २३ र २४ मा दिवङ्गत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। र, हाम्रो पुस्ता जसले यो देशलाई यस्तो अवस्थामा पुर्यायो, त्यसका लागि गहिरो दोषभाव प्रकट गर्दछ!
(मिश्रकाे फेसबुकबाट)




