काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिको पदावधिमा रहेको असमानताप्रति प्रश्न उठाउँदै कानुनमा एकरूपता ल्याउन सरकारसँग माग गरेकी छन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रस्तुत संशोधनका क्रममा बोल्दै सांसद थपलियाले समान प्रकृतिका संस्थाहरूमा फरक–फरक कानुनी व्यवस्था हुनु नीतिगत रूपमा त्रुटिपूर्ण रहेको बताइन् ।

सांसद थपलियाले विभिन्न प्रतिष्ठानका ऐनहरू अध्ययन गर्दा उपकुलपतिको कार्यकालमा ठुलो भिन्नता पाइएको उल्लेख गरिन् । वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको पदावधि ५ वर्ष तोकिएको छ भने चिकित्सा विज्ञान, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा ४ वर्ष मात्र कायम गरिएको छ ।

‘एउटै उद्देश्य र जिम्मेवारी भएका संस्थाहरूमा एउटै पदको कार्यकाल फरक–फरक किन रु यदि पाँच वर्ष उपयुक्त हो भने सबैमा पाँच वर्ष गरियोस्, यदि चार वर्ष उपयुक्त हो भने सबैमा चार वर्ष नै कायम गरियोस् । कानुनले समान संस्थालाई समान व्यवहार गर्नुपर्छ,’ उनले भनिन् ।
विधेयकमा प्रस्ताव गरिएको पुनर्नियुक्ति हटाउने व्यवस्थालाई सांसद थपलियाले सकारात्मक भनिन् । एउटै व्यक्ति नेतृत्वमा दोहोरिने परिपाटी भन्दा योग्य व्यक्तिहरूलाई नेतृत्वको समान अवसर प्रदान गर्नु लोकतान्त्रिक मूल्य र सुशासनको दृष्टिले उपयुक्त हुने थपलियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको