निरोज चौलागाईं, सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोटबीच नगरवासीलाई उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। मंगलबार बाह्रबिसे नगरपालिका र अस्पताल प्रशासनबीच उपचार सेवामा छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार वडा कार्यालय वा नगरपालिकाको सिफारिस लिएर केएमसीमा उपचारका लागि जाने बाह्रबिसे नगरपालिकाका नागरिकले २०८३ असार मसान्तसम्म मुटुको भल्भसम्बन्धी उपचार बाहेक अन्य सबै उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन्। त्यसपछि २०८३ साउन १ गतेदेखि चैत मसान्तसम्म २५ प्रतिशत छुट प्रदान गरिनेछ।

बाह्रबिसे नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष बिमल प्रसाद पौडेल ले यो सम्झौताले नगरवासीलाई उपचारमा राहत पुग्ने विश्वास व्यक्त गरे। आर्थिक अवस्था कमजोर भएका नागरिकले महँगो उपचार गराउन नसक्ने अवस्था भएकाले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो पहल गरिएको उनले बताए।
सम्झौताअन्तर्गत बिरामीले ओपीडी टिकट निःशुल्क पाउनेछन्। साथै बेड, आईसीयू, शल्यक्रिया, ल्याब परीक्षण, एक्स–रे, सिटी स्क्यान, एमआरआई, ईसीजी लगायत विभिन्न स्वास्थ्य सेवामा छुटको व्यवस्था गरिएको छ। फिजियोथेरापी तथा दाँतको उपचारमा पनि (सामग्री खर्च बाहेक) २५ प्रतिशत छुट दिइनेछ।
वडा नं. ३ का अध्यक्ष जीवन कुमार भण्डारी का अनुसार स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतका बिरामीले सरकारी सुविधाको उपयोग गरिसकेपछि मात्र अस्पतालबाट थप छुट पाउनेछन्।

उनले भविष्यमा महँगो उपचार आवश्यक पर्ने रोगका बिरामीलाई आर्थिक राहत दिन यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सम्झौतापत्रमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत र अस्पताल प्रशासनका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। नगरपालिकाले यस कदमले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ। केएमसी दुवाकोटले सम्झौता गरेसगै नगरपालिकाको विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत संचालन गर्ने जानकारी दिएको छ । शिविरमा नर्मल अप्रेसन लगायतका उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ । यसको ब्यबस्थापकिय जिम्मा भने, बाह्रबिसे नगरपालिकाले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको