काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो। पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो।

भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङकी संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिबालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए।

सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए। उनले भने,‘प्राकृतिक एब सास्कृतिक सम्पदाहरुको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुयाउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना गरिएको हो।’

सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षभर पर्यटन प्रवद्र्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको छ । उनले भने,‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन बर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपूर पुयाउने हाम्रो लक्ष्य छ।’

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटक औसतमा दैनिक तीन हजार रुपैयाँ पुरÞ्याइने छ। हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे साथै समग्र गाउँपालिकामा एक सय २० होटेल र १२ वटा होमस्टे सञ्चालनमा छन्।

जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ। भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ।
उनले भने,‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन गरिनेछ ।’

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवद्र्धन गरिनेछ। पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं गाउँमै रमाऔं’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ।

भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिबद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको