काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
आइतबार बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्थाहरुले जनाएको छ।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो । पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए । दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।



